☰ open Loading... 22 October 2024|  

कार्यालय सहयोगीको भरमा वडा कार्यालय
पश्चिम नेपाल   | ११ आश्विन २०८१, शुक्रबार २०:२७

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका ३ वटा वडाहरू कर्मचारीविहीन हुँदा कार्यालय सहयोगीहरूको भरमा चल्दै आएको छ। कर्मचारी नहुँदा सेवाग्राहीले वडाबाट सिफारिस समेत पाउन सकेका छैनन्।

नगरका १, ६ र ७ वडा कार्यालयमा रहेका करारका कर्मचारी २०८१ असोज ३ गते कार्यपालिका बैठकबाट आन्तरिक आम्दानी नभएको भन्दै हटाएपछि अहिले कार्यालय सहयोगीको भरमा चल्दै आएका हो। कार्यालय सहयोगीले कार्यालय खोल्ने र बन्द गर्ने बाहेक वडाबाट कुनै पनि काम हुन सकेको छैन।

सामान्य सिफारिस गर्ने काम भएपनि पञ्जीकरण सम्बन्धी कुनै पनि काम नभएको १ नम्बर वडाअध्यक्ष उदे कामीले बताए। ‘कर्मचारी वडा नहुँदा सामान्य सिफारिस गर्ने बाहेक अरु काम हुन सकेको छैन।’ १ नम्बर वडाका अध्यक्ष उदे कामीले भने, नगरले कहिले कर्मचारी व्यवस्थापन गर्ने हो वडामा समस्या हुन थालेको छ।’

नगरको ६ र ७ नम्बरमा पनि कार्यालय सहयोगी कै भरमा वडा कार्यालय चल्दै आएको छ। नगरमा कर्मचारी भएपनि वडामा आउन नचाहने कारणले गर्दा वडा कार्यालयहरू सहयोगीको भरमा रहेका छन्। नगरले करारका कर्मचारी हटाएपछि नगरबाट अन्य कर्मचारी नखटाउँदा वडामा समस्या आएको हो। कार्यालय सहयोगी मात्र वडामा हुँदा जन्म, मृत्यु, बराइसराई, विवाह दर्ता लगायतका कुनै पनि काम वडाबाट हुन नसकेको ७ नम्बरका वडाअध्यक्ष इन्द्र प्रसाद चौलागाईले बताए।

कार्यपालिका बैठकले असोज ४ गते सामाजिक परिचालक, पशुसेवा प्राविधिक, कृषि सेवा प्राविधिक, अनमी (चौथो), अहेव (चौथो), नगर प्रहरी, अनमी, कार्यालय सहयोगी र कुचीकार गरी ७१ जनाको करार सेवा सम्झौता रद्द गरेको थियो। करार कर्मचारी हटाएसँगै चामुण्डाविन्द्रासैनी नगरपालिकामा रहेका ६ वटा शहरी स्वास्थ्य क्लिनिक र ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र असोज ४ गते बाट बन्द छन्। बथिङ्ग सेन्टरका कार्यालय सहयोगी तथा अन्य कर्मचारीलाई हटाउँदा काम गर्न समस्या भएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्य रक्त मानकुमारी शाहीले बताइन्। उनका अनुसार पालिकाको नियमित खोप १६ गते भएकाले कसरी खोप व्यवस्थापन गर्ने भन्ने विषय अन्योल छ।

वडामा कर्मचारी व्यवस्थापनको विषयमा प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले आफू बिरामी भएर पालिकाभन्दा बाहिर रहेकाले केही थाहा नभएको बताए। नगरको समस्याका विषयमा कुरा गर्न खोज्दा नगर प्रमुख गणेश कुमार शाही र नगर उपप्रमुख मनसरा रेग्मी सम्पर्कविहीन छन् ।