☰ open Loading... 22 October 2024|  

बागलुङ अदालतमा देवकुमार नेपालीको बयान सुरु
पश्चिम नेपाल   | १५ आश्विन २०८१, मंगलवार ०५:३८

इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ गरी आइतबार नै बागलुङ पुर्‍याइएका देवकुमार नेपालीको सोमबारदेखि बागलुङ जिल्ला अदालतमा बयान सुरु भएको छ । सहकारीको रकम हिनामिना पारी फरार भएको १६ महिनापछि भारतको दिल्लीमा पक्राउ गरी ल्याइएका नेपालीको मंगलबार पनि थुनछेक बहस हुनेछ ।

बागलुङ बजारमा मुख्य कार्यालय, बुर्तिबाङ र गलकोटमा सेवा केन्द्रका नाममा गैरकानुनी कारोबार गरेको इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीको सोमबार र मंगलबार बयान गरी थुनछेक बहस हुने जिल्ला सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिए ।

बागलुङमा बयान र थुनछेक बहसपछि पोखराको अर्को इमेज सहकारीकै ठगी मुद्धामा कास्की ल्याइने छ । सहकारी ऐनविपरीत व्यक्तिगत स्वार्थमा खर्च र घरजग्गा, व्यवसायमा लगानी गरेका देवकुमारसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि सोमबार अदालतमा उपस्थित गराइएको हो ।
सहकारीमा समस्या आइसकेपछि बचतकर्ताको रकम फिर्ता गर्ने बागलुङ र पोखरामा छुट्टाछुट्टै लिखित सहमति गरेर २०८० जेठ ५ गते मेयर नेपाली एकाएक फरार भएका थिए । उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी लिन प्रहरीले आह्वान गरेको थियो । नेपालीविरुद्ध १२ माघ ०८० मा रेडकर्नर नोटिस जारी भएको थियो
बागलुङको ढोरपाटन नगरपालिकामा दोस्रो कार्यकालका लागि मेयर निर्वाचित भएका नेपालीले आफूले समस्या आइसकेपछि मिलाउन प्रयत्न गर्दागर्दै नसकेको तर घरजग्गा र सम्पत्ति बचेर भए पनि बचत फिर्ता गर्न तयार रहेको बयान दिएका छन् । सहकारी हितबिपरीत काम भएको स्वीकारसमेत गरेका नेपालीले समस्या आइसकेपछि फरार हुने आफ्नो अभिप्राय नभए पनि परिस्थिति सिर्जना भएको बयान दिएको जिल्ला अदालतका एक अधिकृतले बताए ।