☰ open Loading... 22 October 2024|  

कर्णालीमा ट्राफिक दरबन्दी भन्दा दोब्बर बढी
पश्चिम नेपाल   | २० आश्विन २०८१, आईतवार १६:०४

कर्णालीमा ट्राफिक प्रहरी दरबन्दीभन्दा दोब्बर बढी कार्यरत रहेका छन्। सामान्य जिल्लाहरूमा समेत ट्राफिक प्रहरी संख्या बढी पठाइएको छ। सुर्खेत बाहेक अन्य जिल्लामा ट्राफिक प्रहरी कम संख्यामा खटाइए पनि पुग्नेमा दोब्बर पठाइएको पाइएको हो।

कर्णालीमा ट्राफिक प्रहरीको दरबन्दी १ सय ६९ जना रहेकोमा हाल २ सय ५९ जना कार्यरत रहेका छन्। बबई लगायत सामान्य पोष्टमा समेत ट्राफिक प्रहरीले असई खटाए पनि केही जिल्लामा हवलदारलाई जिल्ला प्रमुख तोकेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा एसपीसहित ३७ जना कार्यरत रहेका छन् त्यहाँ ६० जनाको दरबन्दी रहेको छ।

कर्णालीमा ट्राफिक चाप सुर्खेत, दैलेख र सल्यानमा बढी हुने गर्दछ। एक वा दुई जनासम्म राखिने ट्राफिक पोष्टमा अहिले ४ देखि ६ जनासम्म राखिएको छ। जसका कारण चाहिनभन्दा बढी ट्राफिक प्रहरी कर्णालीमा खटाइएको पाइएको छ। कम सवारीसाधन चल्ने कर्णालीमा ट्राफिक प्रहरी बढी खटाइनुले अर्थपूर्ण रुपमा हेरिएको छ।

कर्णालीका हरेक जिल्ला मुकामबाट पालिका स्तरमा चल्ने रातो नम्बर प्लेटका गाडीले मनलाग्दी रुपमा भाँडा असुलेर चलाउने गर्दछन्। सामान्यतया त्यस्ता गाडीले यात्रु ओसार्न पाउँदैनन् तर, ट्राफिक प्रहरीकै मिलोमत्तोमा ५ सयभन्दा बढी त्यस्ता जिपहरू कर्णालीमा चल्दै आएका छन्। जिल्लाका ट्राफिक प्रमुख, नेपाल प्रहरीका प्रमुख र सिडिओसमेतलाई थाहा छ तर, कालो नम्बर प्लेट बनाएर नियममा चल्नका लागि भन्दैनन्। त्यस्ता गाडीहरूबाट वर्षेनी दुर्घटना जोखिम बढीरहेको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार सुर्खेत जिल्ला ट्राफिक कार्यालयमा २३ जना ट्राफिक प्रहरीको दरबन्दीमा ९५ जना कार्यरत छन्। त्यस्तै सल्यानमा ९ जनामा २३ जना कार्यरत, दैलेखमा ९ जनामा २१ कार्यरत, रुकुम(पश्चिम) मा ९ जनामा १६ जना कार्यरत, कालिकोट ९ जनामा १४ जना कार्यरत, जुम्लामा ९ जनामा १२ जना कार्यरत, जाजरकोटमा १० मा १७ जना कार्यरत, १० जनामा ८ जना कार्यरत, डोल्पामा १० जनामा ७ जना कार्यरत, हुम्लामा १० जनामा ६ जना कार्यरत रहेका छन्।

हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुमा सवारी चाप कम हुने भएकाले ट्राफिक प्रहरी जान मान्दैनन्। कर्णालीमा सरुवा वा काजमा आएका ट्राफिक प्रहरीहरू बढी गाडी चल्ने ठाउँमा जान रुचाउने गरेको प्रहरी अधिकारीहरू नै बताउँछन्। कर्णालीमा १ सय ६९ जना ट्राफिक दरबन्दी रहे पनि यहाँको हाल २ सय ५९ जना कार्यरत रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अपिल राज बोहराले मुख्यमन्त्री कार्यालयमा प्रस्तुत गरेको प्रस्तुतिमा उल्लेख छ।