नेपालीहरूको महान् चाड विजया दशमीको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारबाट खसी बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ। गत वर्ष घटस्थापनादेखि नै विक्री सुरु गरेको भए पनि यस वर्ष विपद्जन्य घटनाका कारण समयमै खसी बोका र च्याङ्ग्रा नआइपुग्दा आजबाट मात्रै बिक्री सुरु गरेको हो।
खसी बोका १४ सय र च्याङ्ग्रा ३ सय खरिद गर्ने कार्यक्रमअनुसार कम्पनीले अहिलेसम्म ६८६ खसी, बोका र च्याङ्ग्रा प्राप्त गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी बागमती प्रदेश प्रमुख ज्ञानु थापाले बताइन।
उनले च्याङ्ग्रा मुस्ताङबाट र खसी बोका नवलपुर, हेटौँडा र दाङबाट ल्याइएको बताइन। उनले अघिल्लो वर्ष ५४२ वटा च्याङ्ग्रा, १ हजार ६०२ खसी बोका बिक्री गरेको जानकारी दिइन।
उनले गत वर्षको भन्दा यस वर्ष खसी बोकामा प्रतिकेजी १० रुपैयाँ सस्तोमा विक्री गरिएको बताइन। उनले यस वर्ष खसी बोकाको ६७० र च्याङ्ग्राका १२ सय ३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर बिक्री गरिरहेको जानकारी दिइन।
उनले कम्पनीले स्वस्थ खसी बोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी स्वस्थ खसी बोकालाई हरियो रङ लगाएको बताइन। उनका अनुसार एक जनालाई एउटा भन्दा बढी उपलब्ध गराइएकाे छैन। मुख्य चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा विक्री गर्न हरेक वर्ष कम्पनीले खसी बोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ। खाद्यसँगै अरु निजी व्यापारी र व्यवसायीले पनि खसी बोका खरिद गरी काठमाण्डौंमा ल्याएर बिक्री गर्न थालिसकेका छन्।