☰ open Loading... 22 October 2024|  

जीप दुर्घटना हुँदा १७ घाइते, चालक फरार
पश्चिम नेपाल   | २४ आश्विन २०८१, बिहीबार १०:३८

नेपालगन्जबाट रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका ३ गुरेलीखोलामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर तीन जनालाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ। उपचारका लागि चौरजहारी अस्पताल ल्याइएका मध्य तीन जनाको अवस्था गम्भीर भएपछि थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको हो।

नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जादै गरेको लु २ ख ५००२ नम्बरको जीप बिहीबार बिहान देवस्थल चौरजहारी भित्री सडक खण्डको गुरेलीखोलामा दुर्घटना परेको हो। इलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्का अनुसार गाडीमा सवार २० जना यात्रु मध्य १७ जना घाइते भएका थिए । घाइते मध्य १६ जनालाई उद्धार गरेर उपचारको लागि चौरजहारी अस्पताल पठाइएको छ।

गाडी चालक सल्यानको कुमाख गाउँपालिका ३ का २२ वर्षीय वसन्त बुढाथोकी दुर्घटनालगत्तै फरार भएका छन् । गाडिको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।