जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीटोलका भीमसेन विक झन्डै ५ वर्षपछि गत वर्ष असोज अन्तिम साता दसैं मान्न घर फर्किए । भारतमा एक्स्काभेटर चलाउने उनी परिवारसहित उतै बस्दै आएका थिए ।
तिहार मानेर फर्किने सोचाइमा रहेका उनीसहित पत्नी कमला र छोरा ४ वर्षीय सञ्जयले गत वर्ष कात्तिक १७ मा आएको भूकम्पमा ज्यान गुमाए । ‘अब त चाडबाड आयो कि भूकम्प र छोराबुहारी तथा नातिको पीडाले सताउँछ,’ उनका ५० वर्षीय बुवा हस्तबहादुर विक भन्छन्, ‘अझ हामी त अस्थायी टहरामै बसेका छौं ।’ भूकम्पले घर भत्किएपछि ४ महिना त्रिपाल र झण्डै ६ महिना टहरामा बसे पनि अस्थायी आवासको दोस्रो किस्ताबापतको २५ हजार रुपैयाँ पाउन नसकेको उनकी पत्नी महिमाले बताइन् ।
भूकम्पका कारण गत वर्ष कात्तिकमा चिउरीटोलमा मात्रै १३ जनाको ज्यान गयो । अहिले पनि घरमा आफन्तको मृत्यु भएको एक वर्ष नपुगेकाले कसैले पनि दसैंको तयारी गरेका छैनन् । ‘भूकम्पअघि त दसैं आएपछि घर लिपपोत गर्ने, दसैंका लागि नया‘ कपडा, खसीबोका ल्याउने, मीठोमसिनो खाने काम हुन्थ्यो,’ स्थानीय अगुवा सुरेश विकले भने, ‘अहिले त के गर्ने ! साँघुरो टहरामा ८/१० जना कोचिएर सास्तीपूर्वक बस्नुपरेको छ, स्थायी आवास नबन्दासम्म त दसैं आउनु र नआउनु हाम्रा लागि उस्तै हो ।’ उनका अनुसार भूकम्पले दिएको पीडाका कारण झण्डै ८० घरधुरी रहेको गाउँमा दसैंको सुरसार केही छैन ।
गत वर्षसम्म दसैंको बेला गाउँले जम्मा भएर पिङ बनाउने, नाचगान गर्ने, विभिन्न खेलकुद प्रतियोगितामा सहभागी हुने जाजरकोटका अधिकांश गाउ‘ अहिले सुनसानजस्तै छन् । ‘मीठा खानेकुरा र रमाइला खेल खेलेर दसैंको रमझम भित्रिन्थ्यो, गत वर्ष तिहारको मुखमा बिपत्ती आयो, टहराको बसाई कष्टकर छ,’ बारेकोट गाउँपालिका—१ का सूर्यबहादुर गिरीले भने, ‘आफ्नो घर नहुँदा त आफ्नै गाउँ पनि बिरानो लाग्ने । त्यसैले टहरोमा जमरा पनि राखेका छैनौं ।’
भेरी नगरपालिका—१ रावतगाउ‘का पहलबहादुर महरले जीवनमै पहिलोपल्ट यसपालि जमरा राखेनन् । उनको ७ जनाको परिवारले झन्डै साढे ३ महिना त्रिपालमा बितायो, ७ महिनादेखि भने अस्थायी टहरामा कष्टकर तरिकाले बस्नुपरेको छ । ‘हामीलाई त के दसैं के तिहार ?’ उनले भने, ‘एउटा कोठाजस्तो टहरामा खाने–सुत्नेदेखि सबै काम गर्नुपरेको छ, न रोजगारी छ न बारीमा अन्न लगाएका छौं, यसरी कति समय बस्ने हो ? चाडबाड आउँदा मन पोल्छ ।’
वैशाखदेखि असोजसम्म र मंसिरदेखि चैतसम्म मौसमी मजदुरीका लागि भारत जाने उनी भूकम्प गएदेखि बाहिर पनि जान सकेका छैनन् न त गाउँमा अरु रोजगार पाउन । पालिका र संघसंस्थाले दिएको खाद्यान्न पनि सकिन लागेकाले चाडबाडको बेला के खाने भन्ने चिन्ताले सताउन थालेको उनले बताए ।
नलगाडका अधिकांश भूकम्पपीडितको बारी बाँझै छ । त्यसैले हिउँदमा के खाने भन्ने चिन्ता लागेको नलगाड—१ का ज्ञानबहादुर महरले बताए । झन्डै १५ वर्षदेखि वर्षेनि करिब ९ महिना भारतमा मजदुरीका लागि जाने उनी गत वर्ष दसैं मनाउन घर आएका बेला भूकम्प गएको थियो । ‘घर कहिले बन्छ भन्ने निर्क्योल भए त भारततिर गएर १/२ महिना कमाएर ल्याउन सकिन्थ्यो, यहाँ नयाँ घरको सरकारी प्रक्रिया पुर्याउन घरमूली चाहिन्छ भनेका छन्, त्यसैले जान सकिएको छैन,’ उनले भने, ‘टहरामा पशुवस्तुभन्दा कष्टकर जिन्दगी बिताइरहेका छौं, धन्न ज्यान जोगिएको छ ।’ स्थायी आवास बन्ने टुंगो नहु‘दा दसैं भित्रिएपछि झन् अत्यास बढेको उनका छिमेकी भेषबहादुर महरले बताए । फेरि चिसो बढ्न थालेकाले अबको हिउँदमा पनि कष्टकर दैनिकी काट्नुपर्ने बाध्यता आएको उनको भनाइ छ ।
भूकम्पका कारण जाजरकोटमा मात्रै ४८ हजार ५ सय १७ घरमा क्षति पुगेको थियो । तीमध्ये ३४ हजार ९ सय ५४ अस्थायी आवास निर्माण भएका छन् । बाँकी परिवार त्रिपाल र पुरानै घरमा बस्न बाध्य छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार स्थानीय तहको खातामा अस्थायी आवासबापतको दोस्रो तथा अन्तिम किस्ता २५ हजार रकम पठाएपछि वडा कार्यालयमार्फत वितरण भइरहेको छ । रुकुम पश्चिमका १६ हजार भूकम्पीडितका लागि दोस्रो किस्ताको रकम निकासा भएको छ । उनीहरूलाई अस्थायी आवास निर्माणका लागि पहिलो चरणमा पनि २५ हजारका दरले रकम दिइएको थियो । रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार जिल्लाभरि ३२ हजार ६ जना लाभग्राही कायम भएका छन् ।
संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा पुनर्निर्माणका लागि २१ अर्ब रुपैया‘ छुट्याएको छ । उक्त रकम अर्थ मन्त्रालयको अबन्डा कोषमा राखिएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । ‘त्यो रकम सोझै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा जानुपर्थ्यो, अबन्डा कोषमा राखिएको रकम पछि जता पनि लिन मिल्छ,’ उनले भने । पुनर्निर्माणको कार्यविधि नै नबनेकाले समस्या भइरहेको जाजरकोटका प्रजिअ अधिकारीले बताए ।
ईकान्तिपुरबाट