जुम्ला सिंजा ६ भागडाउँका महाबीर रावत बिहीबार२२ वटा भेडा लिएर जुम्ला सदरमुकाम खलंगामा आइपुगे । उनले आफैंले पालेका स्थानीयजातका भेडा उपभोक्ताको रोजाइमा परे । भेडाहरु शारीरिक वनावटले निकै ठूला र स्वास्थ्यका हिसाबले पनि राम्रो देखिएकोले उपभोक्ताहरुले उनको भेडा किने । न्युनतम १० देखि १५ हजार रुपैयाँमै भेडा बेचेको महाबीरको भनाइ छ । ल्याएका सबै भेडा बेचेपछि उनी घर फर्किएका छन ।
पातारासी गाउँपालिका १ का लालचन्द्र बढाले २५ भेडा ल्याएर बजार निस्किए । उनका झण्डै एक सय भन्दा बढी भेडा पालिएकोमा २५ भेडामात्र ल्याएर उनी आएका थिए । उनले न्युनतम १० हजार देखि २५ हजार रुपैयाँ सम्ममा भेडा बेचेर फर्किए । उनले भने, ‘भेडाको ब्यापार ठिकै भयो । परिवारको खर्च जुट्यो ।’ महावीर र लालचन्द्र प्रतिनिधि मात्र हुन् । उनी जस्ता धेरै जुम्ली भेडापालक किसानहरुले खलंगाको चौकचौकमा भेडा बिक्रीमा राखेका थिए ।
न्युनतम १० देखि अधिकतम ३५ हजार रुपैयाँ सम्ममा भेडा किनबेच भएको चन्ददनाथ नगरपालिका पशु विकास शाखाको तथ्यांक छ । २०६८ सालदेखि तिब्बती भेडा आउन छाडेपछि जुम्ली खसीबोकाहरुले हरेक वर्षको दसैं धानेका छन । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जुम्लामा ८८ हजार भेडाहरु छन् । जिल्लाको हरेक पालिका केन्द्रमा रहेका बजारहरुमा किनबेच भइरहेको छ ।
जिल्लाको हाटसिंजा,नराकोट,बागबजार,रारालिही,तातोपानी,उर्थु,मणिसाँघु लगायतका टुक्रेबजारहरुमा समेत खसिबोकाको राम्रै ब्यापार भएको किसानहरुले बताएका छन ।
चन्दननाथ नगरपालिका पशुपंक्षी शाखाका अनुसार नगरपालिकाको खलंगा बजारबाट मात्रै १६ करोड रुपैयाँ भन्दा बढीको खसीबोका बिक्री भएका छन् । शाखा प्रमुख बीरबहादुर रावलले स्थानीय तथा बाहिर जिल्लाबाट ल्याइएका गरेर ७ हजार ९ सय २८ भेडा बिक्री भएका हुन । जसबाट १६ करोड ३२ लाख ३१ हजार रुपैयाँको कारोबार भएको हो ।
१५ करोड २३ लाख २३ हजारका भेडा,७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा भैसीहरु खरिद बिक्री भएका हुन । ४ सय ८७ खसी,३ वटा राँगो र ८२ वटा भैसीको किनबेच भएको शाखा प्रमुख रावलको भनाइछ । स्थानीय भेडाको अधिकतम मुल्य २८ हजार,न्युनतम मुल्य १० हजार भएकोमा औसत मुल्य १९ हजार तोकिएको थियो । ढोरल भेडाको अधिकतम मल्य ३७ हजार र न्युनतम मुल्य २० हजार रहेकोमा औषत मुल्य २८ हजार ५ सय तोकिएको थियो ।
जुम्ली खसीको अधितम मुल्य २४ हजार र न्युनतम मुल्य ८ हजार थियो । औसतमा १६ हजारमा बिक्री भएको थियो । अधिकतम मुल्य ५० हजार र न्युनतम मुल्य २६ हजारमा किनबेच भइरहेका राँगा भैसीको औसच मुल्य ३८ हजार थियो ।