☰ open Loading... 22 October 2024|  

कालीकोटको जुविथामा विद्युत् चुहावट भएर आगलागी
पश्चिम नेपाल   | १ कार्तिक २०८१, बिहीबार १४:१७

हाँको तिलागुफा-६ जुविथामा आगलागी हुँदा ३ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । बुधबार दिउँसो ३ बजेतिर विद्युत् चुहावट भएर धनबहादुर शाहीको घरबाट आगलागी सुरु भएको तिलागुफा-६ का वडाध्यक्ष पर्वलाल शाहीले जानकारी दिए ।

धनबहादुरका छिमेकी मानबहादुर शाही र मनराज शाहीको घरसमेत जलेका छन् । ती घरमा बस्ने १४ परिवार ४० जना विस्थापित भएका वडाध्यक्ष शाहीले बताए ।
काठको छाना र एकअर्कोसँग जोडिएका घरहरु रहेकोले आधा घण्टामै ती घरहरु जलेको वडाध्यक्ष शाहीले बताए । स्थानीयको सक्रियतामा आगो निभाइएकोले थप क्षति हुन नपाएको हो ।

जुविथामा आगलागी भएको जानकारीपछि तिलागुफा नगर प्रमुख शंकरप्रसाद उपाध्यायसहित गाल्जे र खल्लागाड प्रहरी चौकीबाट टोली पुगेको छ । मान्मबाट सशस्त्र प्रहरी पनि घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामप्रसाद पाण्डेले बताए । क्षतिको विस्तृत विवरण प्रहरी टोलीले संकलन गरिरहेको छ ।