राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुर्खेत जिल्ला समितिको सभापतिमा रमेशकुमार सापकोटा चयन भएका छन् ।
बिहीबार प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको पहिलो जिल्ला भेलाले सापकोटालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।
यसअघि नेपाली कांग्रेसको वीरेन्द्रनगर नगर कमिटी सचिव रहेका सापकोटाले बुधबार मात्रै पदबाट राजीनामा दिएका थिए ।
तर कांग्रेस नेतृत्वको पेलानका कारण राजीनामा दिएको उनी निकट नेताहरू बताउँछन् । सुर्खेत काँक्रेबिहार यातायात प्रालिको अध्यक्षसमेत रहेका सापकोटा यातायात समितिमा पछिल्लो समय देखिएको विवादकै कारण पार्टी परित्याग गरेको नेताहरू बताउँछन् ।
कांग्रेस नेतृत्वको व्यवहार ठीक नभएकै कारण आफूले पार्टी परित्याग गरेको सापकोटाले बताए । ‘पहिलो कुरा कांग्रेसभित्र नेतृत्वको व्यवहार नै ठीक भएन । दमन कारी व्यवहार देखियो’, सभापति सापकोटाले भने, ‘अर्को कुरा दमनकारी नेतृत्व र पुरानो ढर्राको राजनीतिबाट परिवर्तन हुने आस नदेखेपछि विद्रोह गरेको हुँ ।’