☰ open Loading... 24 June 2025|  

क्षमताभन्दा बढी सिट ट्राफिकले झिक्यो
पश्चिम नेपाल   | २ कार्तिक २०८१, शुक्रबार १६:४८

दैलेख रुटमा चल्ने गाडीहरूमा तोकिएको भन्दा क्षमताभन्दा बढी सिट राख्ने सवारी साधनलाई प्रहरीले कारबाही गर्न सुरु गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दैलेखमा ५० भन्दा बढी गाडीहरूबाट तोकिएको भन्दा बढी राखिएका सिटहरू झिकेर कारबाही गरेको हो।

दशैंतिहारमा बढी यात्रु चढाउन भन्दै चालक तथा सहचालकले त्यस्ता सिट राख्ने गरेका छन्। चाडपर्वमा प्रहरीले सुरक्षित यात्राका लागि सवारीसाधनहरू निगरानीमा राखेर अनुगमन समेत गरेको थियो।

सबैभन्दा बढी दैलेखको गुँरासे चेकपोष्टबाट गाडीमा राखिएका सिटहरू झिकेको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख शरद चौधरीले बताए। जिल्लाभर ५० भन्दा बढी गाडीबाट क्षमताभन्दा बढी राखेको सिटहरू झिकिएको चौधरीले बताए।

सुर्खेत दैलेखका साथै कर्णाली राजमार्ग, मध्य पहाडी राजमार्ग हुँदै पालिकाहरूमा दैनिक २ सयभन्दा बढी गाडीहरू चल्ने गर्दछन्। दैलेखमा रातो नम्बर प्लेटको गाडीहरू प्रहरीकै आँखा छलेर खुलेआम यात्रु कोचेर आवागमन गर्नु चुनौतीको विषय बनेको छ। ५ सिट क्षमताका त्यस्ता साना गाडीहरूले २५ देखि ३४ जनासम्म बोक्ने गरेका छन्।