☰ open Loading... 22 October 2024|  

सुर्खेत अख्तियारमा ३ महिनामा ३ सय बढी उजुरी
पश्चिम नेपाल   | ३ कार्तिक २०८१, शनिबार १३:१३

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा ३ महिनामा ३ सय बढी उजुरी परेका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ को ३ महिनामा ३ सय ९२ उजुरी परेको कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी उजुरी साउन महिनामा परेका छन् । साउनमा १ सय ८९ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार साउन महिनामा इमेलमार्फत सबैभन्दा बढी ८१ उजुरी परेका छन् । ८० वटा लिखित निवेदन परेका हुन् । २३ वटा उजुरी टेलिफोनबाट टिपाइएका छन् भने ३ वटा उजुरी प्रमुख जिल्ला अधिकारीमार्फत परेका छन् ।

यस्तै भदौ महिनामा १ सय ८ उजुरी दर्ता भएका छन् । भदौ महिनामा सबैभन्दा बढी उजुरी लिखित परेका छन् । ५२ उजुरी लिखित रूपमा परेका छन् । इमेलबाट ४४ वटा उजुरी परेका छन् । ९ वटा उजुरी टेलिफोनबाट टिपाइएका छन् भने एउटा उजुरी समाचारपत्रमार्फत परेको हो । अख्तियारले पत्र–पत्रिकामा आएका समाचारलाई पनि आधार मानी उजुरी दर्ता गर्ने गरेको छ ।

असोज महिनामा ९५ वटा उजुरी परेको आयोगको कार्यालयले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय सुर्खेतले कर्णालीका १० जिल्ला र लुम्बिनी प्रदेशको रुकुम पूर्व जिल्ला हेर्दै आएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा २ हजार ७ सय ७० उजुरी दर्ता भएकामा १ हजार ५ सय ५९ उजुरी फर्स्योट भएका छन् भने १ हजार २ सय ११ उजुरी सरेर आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी दिनेश पौडेलले बताए ।

चालू आर्थिक वर्षमा गत वर्ष सरेर आएका १ हजार २ सय ११ उजुरी र चालु आर्थिक वर्षका ३ सय ९२ उजुरी गरेर १ हजार ६ सय ३ उजुरीमध्ये २ सय २४ उजुरी फर्स्योट भइसकेका छन् । अब १ हजार ३ सय ७९ उजुरी फर्स्योट हुन बाँकी रहेको आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।