☰ open Loading... 22 October 2024|  

कर्णालीमा काँग्रेसबाट भएका मन्त्रीहरुको सम्पती कति छ ? पढ्नुहोस् ।
पश्चिम नेपाल   | ६ कार्तिक २०८१, मंगलवार ०९:१५

सम्पत्ति विवरण सार्वजनिक नगरेको भनेर आलोचना हुन थालेपछि कर्णाली प्रदेशमा कांग्रेसका चार जना मन्त्रीहरूले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

यहाँ एमालेबाट मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकार छ । मुख्यमन्त्रीसहित अन्य मन्त्रीहरूले पहिल्यै सम्पत्ति विवरण सार्वजनिक गरेपनि सत्ता गठबन्धन फेरिएपछि सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले भने सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन् ।

सम्पत्ति विवरण सार्वजनिक नगरेको भन्दै आलोचना हुन थालेपछि कांग्रेसका मन्त्रीहरूको सम्पत्ति विवरण समेत वेभसाइटमार्फत् सार्वजनिक भएको हो । यहाँ कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, सामाजिक विकासमन्त्री धनश्याम भण्डारी, जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी छन् । चारै जना मन्त्रीहरूको सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेभसाइटमा सार्वजनिक गरिएको छ ।

मन्त्रीहरूमध्ये अर्थमन्त्री शाह सबैभन्दा धनी देखिएका छन् । जाजरकोटबाट चुनाव जितेका शाह काठमाडौँमा जन्मे, हुर्कका हुन् । थापाथली निवासी शाहले काठमाडौँमा ४ वटा घर भएका सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

चारमध्ये तीन वटा घर शाहका नाममा छन् । एउटा घर श्री टीआर रियल स्टेट एण्ड लिजिङ कम्पनी प्रालिको नाममा छ । शाहले आफ्नो नाममा रहेका घर पुर्ख्यौली रहेको उल्लेख गरेका छन् । शाहसँग काठमाडौँसँगै काभ्रे, नुवाकोटमा ११ वटा ठाउँमा जमिन छ । काठमाडौँमा ९ ठाउँमा उनको जमिन छ ।

काठमाडौँमा रहेको जमिन पुर्खाबाट प्राप्त गरेको उल्लेख गरिएको छ । शाहसँग चल सम्पत्तिमा ९ सय ४५ तोला सुन, १० हजार १ सय ६१ तोला चाँदी, ८ करोड बराबरको हिरा, जवाहरात र १ करोड ५० लाखका विभिन्न ब्राण्डका घडी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यो सम्पत्ति व्यापार, मामाघरकी हजुरआमा रानी विन्दुदेवी राणाको कालगतिले परलोक भए पश्चात शेषपछिको बकसपत्र लगायतबाट प्राप्त गरेको उल्लेख गरिएको छ ।

मन्त्री शाहको दुई वटा बैंकमा ३ करोड २३ लाख रकम मौज्दात रहेको, विभिन्न २६ वटा कम्पनीमा सेयर रहेको, विभिन्न ५ वटा बैंकबाट झण्डै २१ करोडभन्दा बढी ऋण लगेकामा ७ करोडभन्दा बढी ऋण तिरिसकेको सम्पत्ति विवरणमा उल्लेख छ । शाह हिमालय एडभेन्चर र बिल्डरनेस माउन्टेनदेखि सिंह होल्डिगङ्ग इन्भेटमेन्टस प्रालिका मालिक पनि हुन् ।

मन्त्री शाहसँग १ करोड ५० लाख मूल्यको टोयोटा टीएक्स कार, दुई करोड ६३ लाख पर्ने जिप रुविकन, ६१ लाख ७५ हजारको महिन्द्रा एसयुभी जिप, ५ लाखको मोटरसाइकल, ३७ लाखको महिन्द्रा थार कार पनि रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

यस्तै, दैलेखको दुल्लु नगरपालिका – ८ साहुबाडा निवासी सामाजिक विकास मन्त्री भण्डारीका दुल्लुका विभिन्न ठाउँमा जग्गाजमिन भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सोही ठाउँमा भएको उनको पुर्ख्यौली घर आमा चन्द्रा भण्डारीको नाममा छ ।

दुल्लु नगरपालिका–३ का १३ ठाउँमा मन्त्री भण्डारीको जमिन छ भने वडा नम्बर २ को ७ ठाउँमा जमिन छ । पैतृक सम्पत्ति उल्लेख गरेको सबै सम्पत्ति उनकी आमाको नाममा छ । आमाकै नाममा साबिक पादुका गाविस–५, का दुई ठाउँमा जमिन भएको पनि उनले सम्पत्ति विवरणमा देखाएका छन् ।

यस्तै, आमाकै नाममा साबिक रावतकोट गाविस–५ र ४ गरी दुई ठाउँमा जमिन छ । उनकी श्रीमती पवित्रा कुमारी खड्काका नाममा दुल्लु, कालभैरव, बडलम्जी गरी तीन ठाउँमा जमिन छ । उक्त जमिन पारिश्रमिकबाट खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

भण्डारीसँग ८ तोला सुन, ५ तोला चाँदी छ । यी गहना केही पारिश्रमिकबाट जोडेको र केही पैतृक रहेको उल्लेख छ । उनीसँग अहिले बैँकमा १ लाख २९ हजार ७ सय रुपैयाँ मौज्दात भएको देखाएका छन् । यो पारिश्रमिक बापत पाएको उल्लेख गरेका छन् । आफूलाई २१ लाख ऋण भएको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

यस्तै, जलस्रोत तथा ऊर्जामन्त्री विजया बुढाको सम्पत्ति विवरणमा हुम्लाको सिमिकोट र बाकेको नेपालगञ्जमा २ वटा घर छन् । घर छोरा मिजास बुढाका नाममा रहेको र घर पारिश्रमिक, व्यापार, व्यवसाय र ठेक्कापट्टाबाट जोडेको उल्लेख छ । मन्त्री बुढाको हुम्ला, बाँके र सुर्खेतमा गरी ६९ लाख पर्ने जमिन ५ वटा ठाउँमा छ ।

जमिन पनि व्यापार, व्यवसाय, ठेक्कापट्टादेखि केही ऋण सापट गरेर खरिद गरेको उल्लेख छ । बुढासँग २५ तोला सुन, १ सय ५० तोला चाँदी र १५ तोला मुगा छ । उक्त सम्पत्ति पारिश्रमिक, व्यापार, व्यवसाय र केही दाइजोबाट प्राप्त गरेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् ।

व्यापार–व्यवसायदेखि ठेक्कापट्टाबाटै उनको झण्डै २३ लाख रकम विभिन्न ७ वटा बैंकमा मौज्दात छ । उनको विभिन्न सहकारी, बैंक तथा होइड्रोपावर गरी ९ ठाउँमा सेयर लगानी छ । यस्तै ३५ हजारको मोबाइल र ६० हजारको ल्यापटप रहेको पनि जनाएकी छिन् ।

सल्यानको शारदा नगरपालिका–२ डाँडागाउँ निवासी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीको सम्पत्तिमा डाडागाउँमा घर छ । २ लाख ५० हजार मूल्य पर्ने घर श्रीमतीको तलबभत्ता र आफूले गरेको ठेक्कापट्टाबाट बचत भएको रकमबाट खरिद गरेको जनाएका छन् ।

दाङको तुल्सीपुर उपमहानगरपालिकाका लगायत विभिन्न ५ ठाउँमा जमिन छ । मन्त्री अधिकारीले २५ तोला सुन र २० तोला चाँदी पनि आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सुनचाँदी श्रीमतीको दाइजो , घर पक्षबाट प्राप्त र केही आफैँले खरिद गरेको जनाइएको छ ।

आफ्नो र श्रीमतीको नाममा विभिन्न ७ वटा बैंकमा ११ लाखभन्दा बढी रकम मौज्दात रहेको पनि उनले जनाएका छन् । यो रकम केहि जग्गा विक्री गरेर र केहि सेवासुविधा भएको बताएका छन् ।

ईकान्तिपुरबाट