☰ open Loading... 22 January 2025|  

सुर्खेतमा ठुलो आवाज निकाल्ने मोटरसाइकल प्रहरी नियन्त्रणमा
पश्चिम नेपाल   | ९ कार्तिक २०८१, शुक्रबार १९:५५

हिजोआज जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल मोडिफाई गरेर आवाज ठुलो निकाल्ने बाईकहरु धमाधम नियन्त्रणमा लिएको छ । आवाज ठुलो निकालेर अनावश्यकरुपमा ध्वनी प्रदूषण गरेको गुनासो आएपछि सुर्खेतभर ट्राफिकले धमाधम त्यस्ता मोटरसाइकलको खोजी गरेको हो ।

ट्राफिक प्रहरीले टोलटोलमा पुगेर त्यस्ता ठुला आवाज निकाल्ने मोटरसाइकलको पहिचान गरेर नियन्त्रण लिईरहेका छन् । वीरेन्द्रनगरमा दुई दिनमा १८ वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका छन् ।

ठुलो आवाज निकालेर अत्याधिक मात्रामा ध्वनी प्रदुषण गर्ने मोटरसाइकल छुटटै ट्राफिक गस्ती खटाएर नियन्त्रणमा लिई आवश्यक कार्वाहीका लागि यातायात कार्यालयमा पठाईएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए । अहिलेसम्म मोडिफाई गरेर चलाईएका १८ वटा बाईकहरु नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि यातायात कार्यालयमा पठाईएको प्रहरी निरीक्षक सुनारले बताए ।

सुर्खेतमा साँझतिर यस्ता मोडिफाई गरेर ठुलो आवाज निकाल्ने मोटरसाइकलले स्थानीयहरुलाई हैरानी गर्ने गरेका थिए । प्रहरीको यो अभियानपछि यस्ता ठुला आवाज निकाल्ने मोटरसाइकलहरु कम देखिन थालेका छन् । प्रहरी निरीक्षक सुनार सुर्खेत ट्राफिक प्रमुख भएर आएसंगै तीव्र गतिमा चलाउने सवारी साधनलाई निगरानी राख्न राडर गनमार्फत् सवारीको गति जाँच गरेका थिए ।

कर्णालीमा हुने दुर्घटनामध्ये ५७ प्रतिशत तीव्र गतिका कारण भएको देखिएपछि राडर गन मार्फत चेकजाँच गर्न थालिएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।