☰ open Loading... 22 January 2025|  

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित, स्कटल्याण्ड ५ विकेटले पराजित
पश्चिम नेपाल   | १४ कार्तिक २०८१, बुधबार ०५:३४

आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डमाथि नेपालले पाँच विकेटको जित निकालेको छ। टस जितेर सुरुमा बलिङ गरेको नेपालले पाएको १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा १२१ बल बाँकी हुँदा १५७ रन बनाउँदै पूरा गरेको हो।

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो। स्कटल्याण्डलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने करण केसी, सोमपाल कामी र गुल्सन झाले दुईदुई विकेट हात पारे।

अलराउण्ड प्रदर्शन गरेका आरिफ शेखले बलिङतर्फ तीन ओभर बलिङ गर्दा ९ रन दिएर एक विकेट हात पारे भने ब्याटिङतर्फ अर्धशतक बनाउँदै म्यान अफ द म्याच बने। शेखले ४२ बलको सामना गर्दा आठ चौकाको मद्दतमा ५२ रन बनाएका हुन्।

अमेरिकासँगको अघिल्लो खेल गुमाएको नेपालले लिग २ मा १० खेल खेल्दा दोस्रो जित निकालेको हो। नेपाल लिग–२ को तालिकामा पाँच अंकसहित सातौं स्थानमा कायम छ। छैटौं स्थानको ओमानको ६ अंक छ भने क्यानडा १४ अंकसहित शीर्ष स्थानमा छ ।