☰ open Loading... 22 December 2024|  

सल्यानको शारदामा प्लाष्टिकजन्य मालाको बिक्री वितरणमा रोक
पश्चिम नेपाल   | १२ कार्तिक २०८१, सोमबार ०८:५२

शारदा नगरपालिकाले तिहारमा प्लाष्टिकजन्य मालाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले सूचना प्रकाशन गरेर प्लाष्टिकजन्यजन्य मालाको बिक्री–वितरणमा रोक लगाएको हो ।

प्लाष्टिकजन्य फूलमालाको प्रयोगले वातावरण प्रदूर्षणका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने मात्र नभई स्थानीय कृषकद्वारा उत्पादित फूलले बजार नपाउने भएपछि नगरपालिकाले त्यस्ता फूलको बिक्री वितरणमा रोक लगाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले नगरपालिकाले प्रकाशन गरेको सूचनाको बेवास्ता गरी प्लाष्टिकजन्य सामग्रीको प्रयोग तथा बिक्री–वितरण गरेको पाइएमा उक्त सामान जफत गरी कानुनबमोजिम जरिवाना गरिने बताए ।

प्लाष्टिकजन्य फुलमाला किन्ने भन्दा नगरपालिका भित्रका किसानले उत्पादन गरेका सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गरी स्थानीय रूपमा उत्पादित फूलको बजारीकरणमा सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।

चाडपर्व मात्र नभई नगरपालिकाको आयोजनामा हुने सबै किसिमका सभा समारोहमा समेत किसानले उत्पादन गरेका फुल प्रयोग गर्दै आएको उनको भनाइ छ ।

स्थानीयस्तरमा उत्पादनलाई प्रवर्द्धन गर्न र स्थानीयलाई घरमै रोजगारीको सिर्जना गर्न नगरपालिकाले प्लाष्टिजन्य फुलमा गत वर्षदेखि नै रोक लगाउँदै आएको प्रमुख प्रशासकीय अधिकृत देबकोटाले बताए ।

उनले तिहारको समयमा पटकाजन्य वस्तु नपड्काउन र बिक्री वितरण समेत नगर्न आग्रह गरेको छ ।

ईकान्तिपुरबाट