☰ open Loading... 28 November 2024|  

मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ पुग्यो
पश्चिम नेपाल   | १३ कार्तिक २०८१, मंगलवार १२:०९

अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ।

सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएको थियो। प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए। आज बिहान थप सातजना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका छन्।

अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको बताए। उनीहरू सबैको अवस्था सामान्य छ। आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए। ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा. तिवारीले जानकारी दिए।

बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ भने एकजनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले बताए। दुईजना उपचारपछि निको भएर घर फर्किएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।