☰ open Loading... 25 December 2024|  

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
पश्चिम नेपाल   | १९ कार्तिक २०८१, सोमबार २०:१५

पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ ।

फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुइटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाहरूले आफूहरू भयभीत भएको बताएका छन् ।

इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको सङ्ख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट दश हजार २९५ जना प्रभावित भएको बताए । उनकाअनुसार विस्थापितको सङ्ख्या अझै गणना भइरहेको छ ।

एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखी नजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ ।