☰ open Loading... 23 February 2025|  

ट्राफिक प्रहरीले झिक्न थाल्यो सुर्खेतमा गाडीको अतिरिक्त सिट
पश्चिम नेपाल   | २१ कार्तिक २०८१, बुधबार १४:५३

सिट क्षमता भन्दा धेरै यात्रु बोकेर गाडीहरू हिँड्न थालेको गुनासो बढ्न थालेपछि जिल्ला ट्राफिक कार्यालय सुर्खेतले अतिरिक्त सिट राखेर यात्रु बोक्ने गाडीहरूको निगरानी बढाएको छ। ट्राफिक प्रहरीले मंगलबार र बिहिबार चेकजाँचका क्रममा अतिरिक्त सिट राख्ने ९४ वटा गाडीबाट सिट झिकेका हुन्।

सुर्खेत ट्राफिक प्रहरीले सिट अतिरिक्त सिट भए नभएको गाडीहरू बिहान र साँझ चेकजाँच गर्ने गरेका छन्। ट्राफिक प्रहरीले सुर्खेत आउने र सुर्खेतबाट जाने यात्रुबहाक गाडीहरूको सिट क्षमता चेकजाँच गरेको छ । सिट क्षमताभन्दा बढी सिट हालेको पाएको ट्राफिकले झिक्ने गरेको छ।

नियमित रुपमा अतिरिक्त सिट भए नभएको चेक हुने जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ। दुई दिनमा ९४ वटा गाडीबाट अतिरिक्त जोडिएको सिटहरू झिकेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए। गाडी लोडका कारण गाडी दुर्घटना जोखिम बढेकाले अतिरिक्त सिटको निगरानी राख्न थालिएको उनको भनाई छ।

सुर्खेतबाट रत्न राजमार्ग, कर्णाली राजमार्ग, दैलेख, जाजरकोट जाने आउने गाडीहरूमा निगरानी बढाइने जनाइएको छ। वीरेन्द्रनगर केन्द्रित भएको सिट चेकजाँच बाहिर पनि बढाइने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीले अतिरिक्त सिट झिक्न थालेसँगै गाडीहरू राखेका सिटहरू आफै झिक्न थालेका छन्।

यात्रुहरूको सुरक्षित यात्राका लागि सुर्खेतबाट बाहिरिने गाडीहरूमा अतिरिक्त सिटहरू हटाउने अभियान थालनी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए। ‘अतिरिक्त सिटकै कारण गाडीमा ओभर लोड हुने हुँदा दुर्घटना जोखिम हटाउन अभियान थालिएको हो।’ प्रहरी निरीक्षक सुनारले भने, सिट क्षमताभन्दा बढी सिट भएका गाडीहरूलाई पहिलो चरणमा हटाउने कार्य भइरहेको।’

ईभी गाडीमा भन्दा धेरै फोर्समा अतिरिक्त सिट राखेको पाइएको ट्राफिक प्रहरीले जनाइएको छ । ट्राफिक प्रहरीले चालेको अतिरिक्त सिट झिक्ने अभियानले यात्रुहरू सिटमै बसेर सुरक्षित यात्रा गर्न सहज हुने अपेक्षा गरिएको छ।