आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस दैलेखले महावु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारको टुंगो लगाएको छ । नेपाली कांग्रेस दैलेखले महावु गाउँपालिकाको अध्यक्षको उम्मेदवारका लागि झलकबहादुर भण्डारीको नाम संर्वसहमितले टुंग्याएको कांग्रेस दैलेखका सचिव नारायण रेग्मीले जानकारी दिए ।
यस अघि २०७९ बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित गाउँपालिकाका अध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । नेपाली कांग्रेसबाट महावु गाउँपालिकाको अध्यक्षमा निर्वाचित लछुमन गुरुङको २०७९ माघ २७ गते हृदयघातका कारण निधन भएको थियो ।
गुरुङले त्यसबेला एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । गुरुङले २ हजार ९ सय ९ मत प्राप्त गरेर विजयी हुँदा एमालेका उपाध्यायले २ हजार ५ सय १९ मत प्राप्त गरेका थिए । यस्तै नेकपा एकिकृत समाजवादीका उम्मेदवार जंगवहादुर शाहीले १ हजार ३ सय मत प्राप्त गरेका थिए ।
कांग्रेस जिल्ला सचिव रेग्मीले महावुमा कांग्रेसको जनमत राम्रो रहेकोले कांग्रेसले सहजै जित्ने दाबी गरे । अध्यक्षका उम्मेदवार भण्डारी युवा नेताका रुपमा परिचित छन् । उनी यस अघि १३औँ महाधिवेशनमा नेपाली कांग्रेस दैलेखको जिल्ला कार्य समिति सदस्य, नेपाल विद्यार्थी संघ मध्यपश्चिम विश्वविद्यालयका सभापति समेत भइसकेका छन् ।
त्यस्तै दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रेशम बहादुर शाहीको नाम टुङ्गिएको हो।