☰ open Loading... 26 December 2024|  

फोर्स गाडी दुर्घटना: मृतकका आफन्त प्रहरीलाई निलम्बनको माग राखेर आन्दोलित
पश्चिम नेपाल   | २४ कार्तिक २०८१, शनिबार ११:४१

सुर्खेत–दैलेख सडक खण्ड अन्तर्गत शुक्रवार भएको फोर्स गाडी दुर्घटनामा परी मृत्यु भएकाका आफन्त आन्दोलित भएका छन् । वीरेन्द्रनगर नगरपालिका –१४ स्थित रातानाग्लामा कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो । जसमा चार जनाले ज्यान गुमाएका थिए ।

उनै मृतकका आफन्त शनिवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आन्दोलित भएका हुन् । एरीचौकबाट मंगलगढी चौकसम्म विभिन्न मागहरू राखेर प्रदर्शन गरेका छन् ।

मृतकका आफन्तहरूले क्षमताभन्दा बढी यात्रु राख्दा समेत नदेख्ने प्रहरीहरूलाई निलम्बनको माग गरेका छन् । गाडीमा जथाभाबी यात्रु चढाउने कार्य बन्द गर्नुपर्ने पनि आन्दोलनकारीको माग छ ।

दुर्घटनामा परी दैलेखको भैरवी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरवी गाउँपालिका–२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका–२ का १६ वर्षीय दीपिका महतारा र २१ वर्षीय संगीता विष्टको मृत्यु भएको थियो ।

दुर्घटनामा ३० जना घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ३० जनामा १६ जना महिला र १४ जना घाइते भएका थिए । घाइतेहरू सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । क्षमताभन्दा बढी यात्रु राखेर चलाउँदा गाडीले नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।