☰ open Loading... 23 December 2024|  

कर्णालीका ८ स्थानीय तहमा उपनिर्वाचनको कस्तो छ तयारी ?
पश्चिम नेपाल   | २६ कार्तिक २०८१, सोमबार ०९:१०

मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कर्णालीका ८ वटा स्थानीय तहमा चुनाव हुँदैछ । एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति तोकिएसँगै दलहरू चुनावको तयारीमा जुटिसकेका छन् ।

०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचन हुन लागेका ८ ठाउँमध्ये यसअघिको चुनावमा दैलेखको महावु गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपाध्यक्ष, रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–५ को वडाध्यक्ष पद गरी तीन ठाउँमा नेपाली कांग्रेसले जितेको थियो ।

यस्तै दुल्लु नगरपालिका–१३, त्रिपुरासुन्दरी नगरपालिका–५ गरी दुई वटा वडाध्यक्ष पद नेकपा एमालेले जितेको थियो । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, जाजरकोटको कुशे गाउँपालिका–७ र कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको थियो । सकेसम्म दलहरू यसअघि आफूले जितेको ठाउँ सुरक्षित बनाउन चाहन्छन् ।

स्थानीय तहको निर्वाचन हुने बेला कांग्रेस–माओवादीबिच गठबन्धन थियो भने अहिले एमाले–कांग्रेसको सहकार्यमा सरकार सञ्चालन भइरहेको छ । उपनिर्वाचनमा दलहरू सकेसम्म गठबन्धनविनै चुनाव लड्ने तयारीमा छन् ।

एमाले र कांग्रेस नेताहरू उपनिर्वाचनमा सहकार्य गरेर जाने विषयमा छलफल नभएको बताउँछन् । कांग्रेस कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले अहिलेसम्म एक्लै चुनाव लड्ने तयारीमा लागेको रातोपाटीलाई बताए ।

विशेषगरी कर्णालीका स्थानीय तहमा हुने उपनिर्वाचनमा तीन ठुला दलहरूबिच चुनावी प्रतिस्पर्धा हुन्छ । यदि एक्लाएक्लै चुनावमा दलहरू गएको खण्डमा एकीकृत समाजवादीले अन्य दललाई असर गर्ने देखिन्छ ।
‘चुनावको तयारीमा हाम्रा सबै साथी लागिसक्नु भएको छ,’ उनले भने, ‘गठबन्धन गरेर जाने कुरामा अहिलेसम्म कुनै छलफल भएको छैन । सकेसम्म गठबन्धन गरेर चुनावमा नजाने भन्ने हो ।’

सत्तारुढ दल एमालेका प्रदेश अध्यक्ष गुलावजंग शाहले पनि गठबन्धन गरेर चुनावमा जाने कुरामा कुनै छलफल नभएको बताए । ‘अहिलेसम्म माथिबाट कुनै सर्कुलर आएको छैन,’ उनले रातोपाटीसँग भने, ‘उम्मेदवारी दर्ता गर्ने दिनसम्म माथिबाट केही आउँछ कि !’

तर सत्ता भन्दा बाहिर रहेका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले भने सहकार्यको ढोका खुल्ला रहेको बताएका छन् । माओवादीका प्रदेश अध्यक्ष विमला केसीले सहकार्यका लागि माओवादीले ढोका खुला राखेको बताइन् । ‘वामपन्थीहरूसँग एकताबद्ध भएर चुनावमा जान सकिने भन्ने हाम्रो पार्टीको नीति छ,’ उनले भनिन्, ‘अहिलेसम्म आधिकारिक रूपमा सहकार्य गरेर जाने भन्ने विषयमा कुनै छलफल भने भएको छैन ।’

विशेषगरी कर्णालीका स्थानीय तहमा हुने उपनिर्वाचनमा तीन ठुला दलहरूबिच चुनावी प्रतिस्पर्धा हुन्छ । यदि एक्लाएक्लै चुनावमा दलहरू गएको खण्डमा एकीकृत समाजवादीले अन्य दललाई असर गर्ने देखिन्छ । जस्तै दैलेखको महावु गाउँपालिकामा एकीकृत समाजवादीले ०७९ को निर्वाचनमा २३ सय मत ल्याएको थियो ।

एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले सहकार्य हुने ठाउँमा सहकार्यका माध्यमबाट जाने र नभएको ठाउँमा एक्लै लड्ने रणनीति अपनाएको बताए । ‘हामी उपनिर्वाचनको तयारी गरिरहेका छौँ । उम्मेदवार उठाउने विषयमा भने छलफल भएको छैन,’ थापाले भने, ‘मिल्न सक्ने ठाउँमा कोही मिल्न आएपछि मिल्ने हो, नआएको ठाउँमा एक्लै भए पनि उम्मेदवार उठाइने छ ।’

कसको मत कति ?

अध्यक्षको लागि उपनिर्वाचन हुन लागेको महावु गाउँपालिकामा २०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए । ०७९ माघ २७ गते उनको हृदयघातका कारण मृत्यु भयो ।

गुरुङका निकटम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत पाएका थिए भने नेकपा एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६९ मत पाएका थिए ।

दुल्लु नगरपालिका–१३ मा गत चुनावमा एमालेका बिर्खबहादुर शाही ८२२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका डम्बर शाहीले ७७३ मत पाएका थिए । माओवादीका शाहीलाई कांग्रेसको साथ थियो । निर्वाचित भएका शाहीको ब्रेन ट्युमरका कारण ०८० माघमा मृत्यु भयो ।

जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको ०८० कार्तिकमा भूकम्पमा परी मृत्यु भएपछि उपप्रमुख पद रिक्त छ । सिंह त्यो बेला ५ हजार ४०६ मत पाएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३९३ मत पाएकी थिइन् ।

यता जाजरकोटको कुशे गाउँपालिका–७ मा माओवादी केन्द्रका मनबहादुर घर्ती ३८० मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका खम्ब बहादुर सिंहले ३१८ मत पाएका थिए ।

कालिकोटको तिलागुफा नगरपालिका–४ मा गत निर्वाचनमा माओवादी केन्द्रका परबहादुर शाही २३४ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी नेमकिपाका दिपबहादुर शाहीले १६१ मत पाएका थिए ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा गत निर्वाचनमा एमालेका नन्दलाल रोका १०८ मत पाएर निर्वाचित भएका थिए । उनको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका जंगबहादुर रोकायाले १०२ मत पाएका थिए ।

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्र सिंह कार्कीको केही समयअघि सडक दुर्घटनाका कारण मृत्यु भयो । उनको निधनपछि यहाँ उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा ३ हजार २६९ मत पाएर माओवादी केन्द्रका कार्की उपाध्यक्षमा निर्वाचित भएका थिए ।

उनका प्रतिस्पर्धी एमालेका जुनकुमारी फडेराले १ हजार ६४ मत पाएकी थिइन् । यहाँ माओवादीको राम्रो प्रभाव छ ।

यता रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–५ मा गत निर्वाचनमा कांग्रेसका अलबहादुर खत्री ४६२ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका तीर्थबहादुर खत्रीले ४३४ मत पाएका थिए । यहाँ माओवादीको राम्रै प्रभाव भए पनि कांग्रेसले जितेको थियो । यहाँ त्यो बेला गठबन्धन भएको थिएन ।

उम्मेदवारको टुङ्गो लगाउने तयारीमा दलहरू

कांग्रेसले दैलेख र जाजरकोटमा उम्मेदवारको टुङ्गो लगाइसकेको छ । महावु गाउँपालिकाको अध्यक्ष पदका लागि युवा नेता झलकबहादुर भण्डारी र दुल्लू नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि रेशम बहादुर शाही उम्मेदवार बनेका छन् ।

यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारका लागि इन्द्रा चन्द सिंह र कुशे गाउँपालिका–७, को वडाध्यक्षको उम्मेदवारमा खम्बबहादुर सिंहको नाम टुङ्गिएको छ । उपप्रमुखको उम्मेदवार बनेकी सिंह यसअघि मृत्यु भएकी सरिताकै भाइबुहारी हुन् भने वडाध्यक्षका उम्मेदवार सिंह ०७९ को निर्वाचनमा सोही पदमा पराजित भएका व्यक्ति हुन् ।

नगरकमिटी, जिल्ला हुँदै प्रदेश कमिटीमा आएर उम्मेदवारको टुङ्गो लगाउने काम दलहरूले गरिरहेका छन् । कांग्रेस प्रदेश सभापति ललितजङ्ग शाहीले डोल्पाको विषयमा अत्तोपत्तो नरहेको बताए । रुकुममा पनि दलको बैठक बसेर निर्णय गर्न बाँकी छ भने हुम्लाको बारे २४ गते र कालिकोटको २५ गते उम्मेदवार टुङ्गो लाग्ने छ ।

माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले उम्मेदवारको टुङ्गो लगाउने अन्तिम तयारी भइरहेको बताए । नलगाडको उपप्रमुखको उम्मेदवार देवका लामिछानेलाई बनाउने माओवादीको तयारी छ । उनको नाम नगरकमिटीदेखि प्रदेशसम्म एकल सिफारिस गरिएको छ । यद्यपि निर्णय हुन बाँकी छ । त्यस बाहेक अन्य ठाउँमा पनि छलफल भइरहेको मल्लले बताए ।

माओवादीले २५ गतेसम्म सबै उम्मेदवारको टुङ्गो लगाउने तयारी गरेको छ । यस्तै एमालेले अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाएको छैन । बिहीबार प्रदेश कमिटीको बैठक बसे पनि निर्णय गर्न बाँकी रहेको प्रदेश अध्यक्ष गुलावजंग शाहले बताए । नलगाडमा यसअघि पराजित भएकी सुनिता बोहोराको नाम सिफारिस भएर आएको छ ।

समाजवादीले २८ गतेसम्म उम्मेदवारको टुङ्गो लगाउने प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले बताए ।

रातोपाटीबाट