कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षक तथा कर्मचारी आन्दोलित भएका छन् । आफूहरूको लामो समयदेखि बढुवा नभएको भन्दै ५८ जना बढुवाका योग्यता पुगेका शिक्षक र कर्मचारी आन्दोलित भएका हुन् ।
सोमबार उनीहरुले कालोपट्टी बाँधेर कार्यालयको कामकाज गर्दै प्रतिष्ठान परिसरमा पत्रकार सम्मेलनमार्फत माग सार्वजनिक गरेर आन्दोलन घोषणा गरेका हुन् ।
उनीहरुले कात्तिक २७ गते मंगलबार पेनडाउन गर्ने, बुधबार प्रक्रिया पुगिसकेकालाई बढुवा गर्न नसकेको बारे सर्वदलीय बैठक बोलाइदिन जिल्ला समन्वय समितिसँग आग्रह गर्ने र बिहीबारसम्म पनि पदाधिकारीले कुनै सुनुवाइ नगर्ने स्थिति भए अस्पतालबाहेकका सबै सेवा ठप्प पार्ने र नियमित आन्दोलन जारी राख्नेलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।
लामो समयदेखि प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारीलाई स्तरोन्नतिको प्रक्रिया अगाडी बढाउन नखोज्नु बिडम्बना भएको विज्ञप्ति मार्फत जनाएका छन् । यसअघि पनि प्रतिष्ठानका बढुवाको योग्यता पुगेका १० जना कर्मचारीहरुलाई पदाधिकारीले बढुवा गर्न नमान्दा अदालतमा मुद्दा परेको थियो ।
उच्च अदालत सुर्खेतको जुम्ला इजलासले कर्मचारीहरुको पक्षमा आदेश दिएको थियो । अदालतको फैसला कार्यन्वयन गर्न समेत पदाधिकारीले नमानेपछि कर्मचारीले फेरि आन्दोलन थालेका थिए । त्यसपछि २०८० भदौ २१ गते दुई पक्षीय सम्झौता भइ असोज ८ गते बढुवाको पत्र दिइएको थियो ।