आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। विश्व स्वास्थ्य सङ्गठनले सन् २००९ देखि प्रत्येक वर्ष नोभेम्बर १२ लाई विश्व निमोनिया दिवसको रूपमा मनाउने घोषणा गरेकोे हो। यसको उद्देश्य निमोनियाबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नुका साथै निमोनियाबाट बच्ने उपाय, निमोनियाको रोकथाम र उपचारका उपायबारे जनचेतना फैलाउनु रहेको छ।
ग्लोबल बर्डेन अफ डिजिजको तथ्याङ्कअनुसार सन् २०२१ मा निमोनियाका कारण मात्रै २२ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ। जसमा ५ लाख २ हजार बालबालिका रहेका छन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार ५ वर्षमुनिका बालबालिकाको मृत्युको १४ प्रतिशत कारक निमोनिया रहेको छ भने समग्र मृत्युको २२ प्रतिशतमा निमोनिया कारक रहने गरेको छ।
सन् २०१९ मा मात्र ७ लाख ४० हजार १ सय ८० बालबालिकाको मृत्यु निमोनियाबाट भएको सङ्गठनको तथ्याङ्क छ।
नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया मानिन्छ। नेपालमा निमोनियाबाट हुने ५ वर्षमुनिका बालबालिकाको मृत्यु सन् २०१४ सम्म १३ प्रतिशत रहे पनि २०१५ देखि सरकारले निमोनियाविरुद्धको खोप निःशुल्क सुरु गरेयता निमोनियाबाट हुने मृत्यु दर घट्दै गएको छ।
विशेषगरी दक्षिण एशिया र अफ्रीकामा निमोनियाको प्रकोप धेरै देखिने गरेको सङ्गठनको भनाइ छ। त्यस्तै, निमोनियाले वयस्क उमेर तथा ज्येष्ठ उमेर भएका व्यक्तिहरूलाई पनि उत्तिकै प्रभावित गर्ने गरेको देखिन्छ।
अस्पताल भर्ना भएका बिरामीहरूमा हुने सङ्क्रमणहरू मध्ये निमोनिया सबैभन्दा धेरै हुने र घातक मानिएको छ। इम्युन कम्प्रोमाइज रोगबाट लड्न सक्ने क्षमता कम भएका जस्तै एचआइभी (एडस) भएका बिरामीहरूमा पनि निमोनिया हुने जोखिम धेरै हुन्छ। उनीहरूमा निमोनियाको असर पनि गम्भीर हुने गर्छ।
निमोनियाबाट बच्न र निमोनिया भएको खण्डमा यसको छिटो र प्रभावकारी उपचार नै यस रोगसँग लड्ने सबैभन्दा सरल उपाय हो। यसै सन्दर्भमा निमोनिया सम्बन्धी केही जानकारी यहाँ प्रस्तुत गरिएका छन्।
निमोनिया के हो ?
निमोनिया भनेको फोक्सोमा हुने एक प्रकारको सङ्क्रमण हो जुन ब्याक्टेरिया, भाइरस वा फङ्गसद्वारा हुन्छ्र। फोक्सोको सङ्क्रमण सबैभन्दा धेरै पाइने सङ्क्रमण मध्ये एक हो। निमोनियाले सामान्यतः जोकसैलाई पनि असर गर्नसक्ने भएपनि विशेष गरेर बालबालिका, ज्येष्ठ नागरिक, इम्युन कम्प्रोमाइज भएका बिरामीहरू (जस्तै मधुमेह भएका, हार्ट फेलियर, किड्नी फेलियर भएका र एचआइभी सङ्क्रमित) र दीर्घ श्वासप्रस्वासका समस्या भएका बिरामीहरूलाई धेरै असर गर्ने गर्छ।
समयमा र उपयुक्त उपचारको अभावमा फोक्सोको संक्रमण रक्तसञ्चारमा फैलेर सेप्सिस हुनसक्छ र ज्यानको जोखिम हुन सक्छ। निमोनियाका कारक मुख्यतः निमोनियाका कारक किटाणु ब्याक्टेरिया हुन् जसमध्ये स्ट्रेप्टोकोकस, हेमोपिलस धेरै मात्रामा पाइन्छन्। त्यस्तै, भाइरस मध्ये रेस्पिरेटोरी सिन्सिटीयल र इन्फ्लुएन्जा भाइरसको सङ्क्रमण धेरै हुनेगर्छ।
अस्पताल भर्ना भएकाहरूलाई हुने हस्पिटल इन्फेक्सन भने एन्टीबायोटिक प्रतिरोधी किटाणुहरूले गर्ने हुँदा धेरै खतरनाक हुन सक्छन इम्युन कम्प्रोमाइज भएकाहरूलाई भने फंगस, टीबी आदि किसिमका असाधारण किटाणुहरूले निमोनिया गराउन सक्छन्।
निमोनिया कसरी सर्छ ?
निमोनियाको संचारण हुने विभिन्न विधि पाइएको छ। यी मध्ये श्वासप्रस्वासको माध्यमबाट खोक्दा वा हाछ्यूँ गर्दा निमोनियाका किटाणुहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। त्यस्तै निमोनियाको जोखिमका अरू कारणहरूमा वायु प्रदुषण, धुम्रपान, मद्यपान पनि हुन्। त्यस्तै हस्पिटलमा भएको सक्रमण विभिन्न यन्त्रहरू (जस्तै भेन्टिलेटर, ट्युब, स्तेथ्स्कोप आदि) द्वारा एक बिरामी बाट अर्को बिरामीमा निमोनिया सर्न सक्छ।
निमोनियाका लक्षणहरू:
निमोनियाका मुख्य लक्षण खोकी, खकार, श्वासप्रस्वासमा समस्या र छाति दुःखाइ हुन्। यो बाहेक ब्याक्टेरियल निमोनिया भएकालाई उच्च ज्वरो आउने गर्छ। साना बालबालिकाहरू र वृद्धवृद्धालाई भने ज्वरो नहुन पनि सक्छ भोक कम लाग्नु र तौल घट्दै जानु पनि निमोनिया (बिशेषत टिबी) का लक्षण हुन सक्छन्।
निमोनियाको सङ्क्रमण बिग्रिएको खण्डमा किटाणु शरीरभरि फैलिएर सर्कुलेटरी फेलियर, किड्नी फेलियर, फोक्सोमा पीप जम्ने (लंग एब्सेस), छातीमा पीप जम्ने (एम्पैएमा) जस्ता जटिलताहरू आउन सक्छन्।
त्यस्तै पुराना निमोनिया भएर ठिक भइसकेका बिरामीहरूलाई पनि श्वासनली सुन्निने (ब्रोकिएकटासीस) हुन सक्छ। जसमा दीर्घरूपमा खोकी र खकार हुने समस्या हुन्छ।
निमोनियाको उपचार
निमोनिया भइसकेको खण्डमा यसको द्रूत तथा उपयुक्त उपचार नै सबभन्दा प्रभावकारी उपाय हो। ब्याक्टेरियल नेमोनियामा एन्टीबायोटिकको प्रयोग सकेसम्म छिट्टो गर्नु सबैभन्दा जरूरी हुन्छ। तर, एन्टीबायोटिकको प्रयोग गर्दा संक्रमणका सम्भावित किटाणुलाई ध्यानमा राख्न झन् जरूरी हुन्छ।
गलत एन्टीबायोटिकको प्रयोगले निमोनियामा जटिलता आउने मात्र नभई विभिन्न एन्टीबायोटिक प्रतिरोधी किटाणुहरूको विकास हुन मद्दत गर्छ। त्यस्तै केही भाइरल निमोनिया (जस्तै इन्फ्लुएन्जा, सी एम भी, वेरिसेल्ला) को लागि एन्टीभाइरल औषधि पनि उपलब्ध छन्। फन्गल निमोनिया र टीबीको उपचार गर्दा भने सकेसम्म निमोनियाको किटाणुको पूर्ण यकिन गर्न जरूरी हुन्छ। किनकि यी सङ्क्रमणहरूमा लामो समयसम्म एन्टीफङ्गल वा एन्टी टिबी औषधिहरूको प्रयोग गर्नुपर्ने हुन्छ।
निमोनियाबाट बच्ने तरिका
निमोनियाका किटाणुहरू धेरै जसो चिसो मौसम मा फैलने हुँदा यसबाट बच्न विषेशतः जाडो मौसममा ध्यान पुर्याउनु आवश्यक छ। जाडो मा न्यानो कपडाको प्रयोग र मास्कको प्रयोगले यसलाई एक व्यक्तिबाट अर्कोमा सर्नबाट रोक्छ त्यस्तै वायु प्रदुषणमा कमी ल्याएर र धुम्रपान र मद्यपान जस्ता बानीहरु त्यागेर पनि निमोनियाबाट बच्न सकिन्छ हस्पिटलबाट सर्ने निमोनिया कम गर्न भने नियमित हात धुने, हस्पिटल स्वच्छ राख्ने, अनावश्यक एन्टीबायोटिकको को प्रयोग रोक्ने आदि गर्नु जरूरी छ।
निमोनियाबाट बच्नको लागि खोपको पनि विकास गरिएको छ। निमोकोकल र इन्फ्लुएन्जा खोपले यी दुई किटाणुबाट हुने निमोनियाबाट बचाउन मद्दत गर्छन। विशेषतः बच्चाहरू तथा वृद्धवृद्धाले यी खोप लिनु आवश्यक छ।
त्यस्तै स्वास्थ्यकर्मी, इम्युन कम्प्रोमाइज भएका बिरामी, मधुमेह, सी के डी (किड्नी फेलियर) र स्वासप्रस्वाश का दीर्घरोगिहरूले पनि यी खोप लिनु आवश्यक छ।
हाम्रोजस्तो अल्पविकसित मुलुकमा निमोनियाका कारण प्रत्येक वर्ष लाखौं बालबालिका, वयस्क तथा ज्येष्ठ नागरिकको ज्यान जान्छ। यसबाट बच्ने उपाय जान्नु र यो रोग लागेको खण्डमा समयमै उपचार गर्नु नै यस रोगसँग लड्ने सबैभन्दा उपयुक्त तरिका हुन्।