☰ open Loading... 22 December 2024|  

दैलेखमा पेट्रोलियम अन्वेषण : ड्रिलिङको काम ८०प्रतिशत सकियो
पश्चिम नेपाल   | ३० कार्तिक २०८१, शुक्रबार ०५:२८


दैलेखको भैरवी गाउँपालिका -१ जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको कार्य ८० प्रतिशत सम्पन्न भइसकेको हो । चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नु पर्नेमा हाल सम्म तीन हजार एक सय मिटर पुगेको छ ।
०८१ वैशाख २८ गतेदेखि सुरु गरिएको ड्रिलिङको काम अहिलेसम्मको अन्वेषणको कार्यले उत्साहित बनाएको खानी तथा भूगर्भ विभागका पदाधिकारीहरूले जानकारी दिएका छन् ।

अझै यकिन भन्न सकिने अवस्था त छैन, तर जमिनमुनि २७ सय मिटरसम्म पाइप पुगेपछि साना भण्डारणहरू भेटिन सक्ने अनुमान गरिएअनुसार केही लिकेज ग्यासहरू देखिएको छ । यसले सकारात्मक संकेत गरेको अधिकारीहरू बताउँछन् । साना ग्यासका भण्डारलाई विसर्जन गर्ने र ग्यास लिकेज गर्ने मेसिन पनि सँगसँगै जडान गरिएको छ ।

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न चीन सरकारसँग सहमति भएसँगै चीन सरकारको दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा अन्वेषणको काम सुरु गरिएको थियो ।