☰ open Loading... 22 December 2024|  

निःशुल्क वितरण गरिने औषधीको अभाव
पश्चिम नेपाल   | ७ मंसिर २०८१, शुक्रबार १३:४८

जिल्लाको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संस्थामा निःशुल्क पाइने प्रेसर, सुगर, दम लगायत रोगका औषधीको अभाव देखिएको छ । प्रदेश सरकारले यस्ता औषधी स्वास्थ्य कार्यालयमार्फत पठाउने भए पनि अहिले ती औषधी नपाउँदा छत्रेश्वरीको स्वास्थ्य संस्थामा प्रेसर, सुगर, दम लगायतको औषधीको अभाव भएको हो ।

स्वास्थ्य संस्थामा प्रेसर, सुगर लगायतका औषधीको अभाव भएपछि नियमित सेवन गर्ने पालिकाका सर्वसाधारण प्रभावित बनेका छन् । स्वास्थ्य संस्थामा निःशुल्क पाउने औषधी नपाएपछि निजी मेडिकलबाट धेरै रकम खर्चेर किन्न बाध्य भएको उनीहरूले बताए ।

सिटामोल, एन्टिबायोटिक भन्दा पनि प्रेसर र सुगरको औषधी पछिल्लो समयमा अति आवश्यक भएकाले सरकारले स्वास्थ्य संस्थाबाट निःशुल्क पाउने व्यवस्था गरे पनि भन्ने बित्तिकै नपाइने गर्दा आफूहरू समस्यामा पर्दै आएको लेखपोखराका ६० वर्षीय बलबहादुर बुढाले बताए । निःशुल्क पाइने औषधी किन्नका लागि यहाँबाट लान्तीसम्म पुग्नुपर्ने बाध्यताले झनै मारमा परेको उनले सुनाए ।

झन्डै दुई वर्षदेखि प्रेसरको औषधी सेवन गर्दै आएकी दमाचौरकी विमला ओलीले स्वास्थ्य संस्थाबाट निःशुल्क औषधी नआएपछि एक महिनादेखि निजी मेडिकलको भर पर्दै आएको बताइन् । सम्बन्धित निकायले पर्याप्त र तोके अनुसारको औषधी व्यवस्था नगर्दा अन्य समयमा पनि अभाव झेलिरहनु परेको उनले जानकारी गराइन् ।

प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा झन्डै एक महिनादेखि प्रेसर, सुगर, दम, बाथ, विषादी सेवन गरेकालाई बान्ता गराउने लगायत केही एन्टिबायोटिक औषधी नभएपछि उपचारका साथै औषधी लिन आएकालाई त्यत्तिकै फर्काउनु परेको स्वास्थ्य केन्द्रका प्रमुख डा. राजन अधिकारीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा प्रेसर र सुगरको समस्या भएका बिरामी दैनिक सात/आठ जना आउने गरेको उनले जानकारी गराए । ‘लेखपोखरामा प्रेसर, सुगरका बिरामी धेरै छन् । उनीहरूले नियमित औषधी सेवन गर्नु पर्ने हुन्छ,’ डा. अधिकारीले भने, ‘दीर्घरोगीले नियमित औषधी सेवन नगरी छुटेमा ज्यानै जाने जोखिम पनि हुन्छ । सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि नभएपछि सेवनकर्तालाई विभिन्न किसिमको सल्लाह दिंदै निजी मेडिकलबाट किनेर खान सल्लाह दिन बाध्य छौं ।’

सरकारले स्वास्थ्य संस्थामा ९८ थरीका औषधी पाइने भन्दै आए पनि त्यो अहिलेसम्म पूरा हुन नसकेको र अभाव पूर्ति गर्न माग राख्दै आए पनि पर्याप्त मात्रामा पाउन नसकेको उनको भनाइ छ ।

दमाचौर स्वास्थ्य चौकीका इन्चार्ज रूपक चन्दले प्रेसर मात्र नभई ग्यास्टिक, आँखामा हाल्ने औषधी, मलम लगायत अभाव भएको र सुगरको औषधी पनि केही दिनलाई मात्र रहेको बताए । औषधी अभाव भएपछि पालिकामा माग राखे पनि अहिलेसम्म पूर्ति हुन नसकेको उनले सुनाए । उनका अनुसार प्रेसरको औषधी स्वास्थ्य कार्यालयबाट आउनुपर्नेमा अहिलेसम्म नआएको र पालिकाले समयमै औषधी खरिद गर्न नसकेका कारण केही औषधीको अभाव भएको हो ।