☰ open Loading... 24 February 2025|  

वडा अध्यक्ष आफैले लगाए वडा कार्यालयमा ताला
पश्चिम नेपाल   | ९ मंसिर २०८१, आईतवार १८:१८

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ का वडा अध्यक्ष इन्द्र प्रसाद चौलागाईले वडा कार्यालयमा ताला लगाएका छन्। उनले दुई महिनादेखि आवश्यक कर्मचारी नपठाएको र वडाको कामकाज सञ्चालनमा कठिनाइ भएको भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन्।

असोज ३ गते बसेको नगर कार्यपालिकाको बैठकले करार सेवाका ७१ जना कर्मचारीलाई हटाएपछि नयाँ कर्मचारी नआएको चौलागाईले बताए। ती कर्मचारीहरूमा सामाजिक परिचालक, पशु सेवा प्राविधिक, कृषि सेवा प्राविधिक, अनमी चौथों, अहेव चौथों, नगर प्रहरी, कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र कुचिकार समावेश थिए।

विगत दुई महिनादेखि ७ नम्बर वडा कार्यालय एक सहयोगीको भरमा चलिरहेको छ। वडा सचिवको जिम्मेवारीसमेत वडा नम्बर-९ का सचिव नेत्र खड्काले सम्हालेका छन्। तर, दोहोरो जिम्मेवारीका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ।

वडाका कार्यहरू प्रभावित भएकाले ताला लगाउन बाध्य भएको वडा अध्यक्ष चौलागाईले जनाए। यता, कार्यालयको ताला खुलाउन प्रयास भइरहेको प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले जानकारी दिए।

वडामा कर्मचारीको अभावकै कारण अन्य कामहरू समेत स्थगित हुँदा सेवाग्राहीले समस्या भोग्नुपरेको बताइएको छ।