सानैमा आमा गुमाएका दैलेख आठबिस नगरपालिका–९ छेपाडीका ६० वर्षीय सन्यासी बडुवालको जीवन अभावै अभावमा बित्यो । बुबाले जेनतेन हुर्काए । घरको एक्लो छोरा उनले कक्षा ६ भन्दा माथि पढ्न पाएनन् । बिहेपछि त झन् परिवारको जिम्मेवारी पनि सन्यासीकै काँधमा आयो । त्यसपछि भारत गएर मजदुरी गर्न थाले । जिन्दगीको आधा समय भारतमै बिताए ।
श्रीमती, छोराछोरीको लालनपालन र घरव्यवहार धान्नका लागि वर्षमा ६ महिना भारतमा रोजगारी गर्नुपर्ने बाध्यता थियो । यता श्रीमती नान बडुवाल आफू निरक्षर भए पनि छोराछोरीलाई पढाउनेदेखि घरव्यवहार सम्हाल्ने गर्थिन् । आफूहरूले पढ्न नपाए पनि छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोचले नै सन्यासीले सबै सन्तानलाई पढ्न प्रेरित गरिरहे । ८ छोरी र १ छोरा गरी सबै सानैदेखि पढाइमा अब्बल थिए ।
भारतमा मौसमी मजदुरी गरेर जेनतेन घर धानिरहेका सन्यासीले छोराछोरीलाई सहरका निजी विद्यालयमा पढाउने सपना कहिल्यै देखेनन् । सामुदायिक विद्यालयमै पनि राम्रो पढ्न सकिन्छ भनेर उनले सबै छोराछोरीलाई गाउँकै कालिका माविमा पढाए । १० देखि १२ कक्षासम्म सबै छोराछोरीले त्यहीँ पढे । कतिले उनलाई एक्लो छोरालाई त निजी विद्यालयमा पढाउनुपर्छ पनि भने । तर उनी छोरा र छोरीमा यस्तो खालको विभेदको पक्षमा थिएनन् । सबै छोराछोरीलाई समान व्यवहार गर्दै एकै खालको शिक्षादीक्षा दिलाए । बडुवाल दम्पतीका ९ छोराछोरीमध्ये अहिले ४ छोरी र एक छोरा सरकारी सेवामा कार्यरत छन् । उनीहरू देशका विभिन्न ठाउँका फरक–फरक तह र कार्यालयमा काम गरिरहेका छन् ।
गाउँको सामान्य परिवेशमा हुर्किएका ९ भाइबहिनीमध्ये ४ जना एकै वर्ष सरकारी सेवामा प्रवेश गर्न सफल भएका हुन् । २०६७ सालमा आईएस्सी पढ्नका लागि जेठी छोरी मीनाकुमारी सिजापति सुर्खेतको वीरेन्द्रनगर झरिन् । उनले लोक सेवा पढेर सरकारी सेवामा प्रवेश गर्नुपर्छ भन्ने कुरा वीरेन्द्रनगर बस्न थालेपछि मात्र थाहा पाएकी हुन् । गाउँमा सरकारी सेवामा काम गर्ने खासै कोही नभएकाले उनलाई त्यसअघि यसबारे थाहा थिएन । वीरेन्द्रनगरमा धेरैले लोक सेवाको तयारी गर्ने गरेको देखेपछि उनलाई पनि रहर जाग्यो । अनि खरिदार पदको तयारी किताब किनिन् । अनि बहिनीहरूलाई सरकारी कर्मचारी बन्न सके सेवासुविधा राम्रो हुन्छ भनेर प्रेरित गरिन् ।
कक्षा १२ पढेपछि मीनाले पनि निजी विद्यालयमा पढाउन सुरु गरिन् । आर्थिक अवस्था कमजोर भएका कारण बीएस्सी पढ्न भने पाइनन् । ‘बीएस्सी पढ्नका लागि दैनिक कक्षा नगई नहुने । त्यसैले शिक्षा क्याम्पसमा एड साइन्समा भर्ना गरे । अनि पढ्दै पढाउँदै गरे,’ उनले भनिन्, ‘बुबाले भारतमा मजदुरी गरेको पैसा र आफूले निजी स्कुल पढाएको तलबले बहिनी र भाइहरूलाई पढाइमा सहयोग पुग्न थाल्यो ।’ साहिँली बहिनी शर्मिलाकुमारी सिजापतिलाई १२ कक्षापछिको पढाइका लागि कोहलपुर पठाएको उनले बताइन् । ‘बागेश्वरी क्याम्पसबाट स्नातक सकेर शर्मिला लोक सेवाको तयारीका लागि काठमाडौंमा मामासँग बस्न थालिन्,’ उनले भनिन्, ‘बहिनीले १ वर्षमै खरिदारमा नाम निकालेपछि त सबै भाइबहिनी हौसियौं ।’
शर्मिलाले २०७५ पुसदेखि खरिदार पदको नियुक्ति लिएर काम गर्न थालेकी हुन् । उनले सुरुमा केही वर्ष सिरहा जिल्लामा काम गरेर आफ्नै पालिका दैलेख आठबिसकोटमा पनि केही समय काम गरिन् । शर्मिलाले भर्खर वाग्मती प्रदेशको सातौं तहको अधिकृत पदमा नाम निकाल्न सफल भएकी छन । उनी २०८१ असोज ९ मा सातौं तहको नियुक्ति लिएर स्वास्थ्य कार्यालय मकवानपुरमा कार्यरत छिन् । ‘साहिँली बहिनी सरकारी सेवामा प्रवेश गरेपछि परिवारको आर्थिक अवस्था सुधार हुँदै गयो । भाइबहिनीले पनि लोक सेवाको तयारी गर्न पाए,’ मीना भन्छिन्, ‘बहिनी पास भएपछि लोक सेवामा नाम निकाल्न सकिने रहेछ भन्ने हामीमा पनि आत्मविश्वास बढ्यो ।’
बहिनीले जागिर थालेपछि बुबाले भारतमा मजदुरी गर्न जान नपरेको उनले सुनाइन् । ‘त्यसपछि त घर चलाउन सजिलो भयो । अरू बहिनी र भाइले पनि काठमाडौंमा बसेर लोक सेवाको तयारी कक्षा लिन पाए,’ मीनाले सुनाइन्, ‘मिहिनेत गरेपछि सोर्सफोर्सबिना नै खान सकिने जागिर लोक सेवा हो जस्तो लागेर आफू र भाइबहिनीले पनि तयारी गर्न थाल्यौं ।’ बहिनी शर्मिलाले गर्दा नै आफू र अरू भाइबहिनीले लोक सेवा पास गर्न सफल भएको मीना बताउँछिन् । बहिनीले नाम निकालेपछि हामी पनि सक्छौं भन्ने लागेर मिहिनेत गर्न थालेको उनले बताइन् ।
मीनाले केही समय दैलेखमै राहत शिक्षकका रूपमा पढाइन् । २०७९ चैतमा उनले प्राथमिक तहको शिक्षकमा आयोग पास गरिन् । ६ महिना प्राविको शिक्षकका रूपमा काम गरेपछि उनले विज्ञान विषयमा माध्यमिक तहको शिक्षक सेवा आयोग पास गरिन् । उनले २०८० मंसिर २२ मा मावि तहको शिक्षकको नियुक्ति लिइन् । ३२ वर्षकी मीना अहिले मुगुको सोरु गाउँपालिका–६ स्थित भवानी माविमा कार्यरत छिन् । आफू घरको जिम्मेवारीले गर्दा पनि निजामतीभन्दा शिक्षक सेवामा जानुपर्छ भनेर यतातर्फ लागेको उनी सुनाउँछिन् । ‘त्यो बीचमै बिहे भएर बच्चा जन्मिएको थियो,’ उनले भनिन्, ‘बच्चाको हेरचाह, घरव्यवहारसँगै मैले शिक्षक सेवाको तयारी गरें । सबैतिर सफल हुँदा खुसी नै छु ।’
काठमाडौंमा बसेर लोक सेवाको तयारी गरिरहेका शर्मिलाभन्दा कान्छा २ बहिनी र भाइले पनि लोक सेवामा नाम निकालिसकेका छन् । दुर्गाकुमारी सिजापतिले २०८० मा लुम्बिनी प्रदेशबाट चौथो तहमा सहलेखापाल पदमा नाम निकाल्ल सफल भइन् । दुर्गाकुमारी २०८० पुस २४ गते नियुक्ति बुझेर पाल्पाको रामपुर नगरपालिकामा कार्यरत छिन् । त्यसपछिकी कौशीकुमारी सिजापति पनि खाद्य तथा व्यापार कम्पनीको चौथो तहमा नाम निकालेर बर्दियाको राजापुरमा कार्यरत छिन् । उनले २०८० मंसिर ६ गते नियुक्ति बुझेकी हुन् ।
भाइ हर्कबहादुर सिजापतिले पनि गत कात्तिक १० गते गण्डकी प्रदेशको सब–इन्जिनियर चौथो तहका लागि नियुक्ति बुझेका छन् । २१ वर्षका उनी अहिले तनहुँको भानु नगरपालिकामा कार्यरत छन् । दिदीहरूको प्रेरणाले नै आफू लोक सेवामा आउन सफल भएको हर्कबहादुर बताउँछन् । दिदीहरूको सहयोग र आफ्नो मिहिनेतले एक महिनाअघि मात्र लोक सेवामा नाम निकालेर काम गर्न थालेको उनले बताए । दिदीले लोक सेवाको किताब किनेर सरकारी कर्मचारीलाई हुने सुविधा र निष्पक्ष परीक्षा हुने कुराको जानकारी गराएबाट आयोगको तयारीका लागि पढ्न थालेको शर्मिला बताउँछिन् । ‘लोक सेवाका किताबहरू हेर्दै जाँदा पढ्न सक्छु । किन बेरोजगार बस्ने भन्ने सोचेर पढ्न थालेकी हुँ,’ उनले भनिन्, ‘दिदीले त्यसरी प्रोत्साहित नगरेको भए अहिले यो अवस्थामा पुगिने कल्पना पनि थिएन ।’
सुरुमा दिदीले पढ्न सुरु गरे पनि आफू सफल भएपछि अरू बहिनी र भाइलाई मिहिनेत गरे सफल हुन सकिने रहेछ भन्ने लागेर सबैले यसतर्फ हात हालेको उनले सुनाइन् । ‘लोक सेवा परीक्षाको निष्पक्षताले पनि हामीहरूलाई तयारी गर्न प्रेरित गर्यो, हाम्रो त भनसुन गरिदिने कोही थिएन । निष्पक्ष परीक्षा हुन्छ भन्ने थाहा भएपछि पढे कसो नसकिएला भन्ने लाग्यो,’ शर्मिला भन्छिन् । आफूले पास गरेपछि भाइबहिनीहरूले पनि लोक सेवा पढ्ने इच्छा देखाएकाले काठमाडौंमा राखेर तयारी कक्षा लिन लगाएको उनले बताइन् । उनले भनिन्, ‘मेरोतर्फबाट हुने सहयोग गरें । उनीहरूले मिहिनेत गरे । पढेका जतिले नाम पनि निकाले । अहिले राम्रो लाग्छ । खुसी छु । मिहिनेतअनुसार हामी ५ भाइबहिनी सफल भएका छौं ।’
अब संघ सरकारको अधिकृतका लागि तयारी गर्ने योजना बनाइरहेको शर्मिलाले बताइन् । आफूहरूले दुःख गरेर हुर्काएका छोराछोरीले मिहिनेत बुझेर पढेकामा सन्यासी दम्पती झन् खुसी छन् । अभावै अभावमा हुर्किएका छोराछोरीले सरकारी सेवामा जागिर खान थालेपछि पहिलाको दुःख बिर्सन पाएको सन्यासीले बताए । ‘३०/३२ वर्षको उमेरदेखि वर्षका ६ महिना भारत त ६ महिना घरमा बस्थें । दुःखै दुःखमा छोराछोरी हुर्काउन श्रीमतीको हात झन् बढी छ । हाम्रो दुःख छोराछोरीले बुझे यसैमा खुसी लाग्छ ।’ सन्यासीले गाउँमा सुन्तला खेती पनि गरेका छन् । छोराछोरी हुर्किसकेकाले अब गाउँमै बसेर खेतीपाती स्याहार्ने काममै रहने उनले बताए ।
पढाइमा अब्बल भएकाले मीनाका भाइबहिनीहरूलाई सानैबाट समाजले पनि उदाहरणका रूपमा लिन्थे । अहिले ५ जना दिदीभाइ नै सरकारी सेवामा देखेर गाउँका अन्यलाई पनि प्रेरणा मिलेको छ । पढेपछि लोक सेवामा नाम निकाल्न सकिने रहेछ भनेर अरू दिदीबहिनी र दाजुभाइले उत्प्रेरणाका रूपमा लिने गरेका मीना बताउँछिन् । पढाइमा राम्रो भए पनि स्वास्थ्य अवस्थाले गर्दा माइली बहिनीले भने ८ कक्षासम्म मात्र पढेर छोड्नुपरेको मीनाले बताइन् । पछिका ३ बहिनी पढिरहेको उनले बताइन् ।
भाइभन्दा कान्छी एक बहिनी चितवनमा स्टाफ नर्स पढिरहेकी छन् । अर्की बहिनी कालिका माविमै कक्षा १२ मा पढिरहेकी छन् । सबैभन्दा कान्छी बहिनी पनि गाउँमै कक्षा १० मा पढिरहेकी छन् । अहिले पढिरहेका बहिनीहरू पनि पछि लोक सेवा नै पढ्ने भनेर योजना बनाइरहेको शर्मिला बताउँछिन् । उनी भन्छिन्, ‘नर्सिङ पढिरहेकी बहिनीले पनि पढाइ सकेर लोक सेवा नै तयारी गर्छु भनिरहेकी हुन्छिन् । कक्षा १२ मा व्यवस्थापन संकायमा पढिरहेकी बहिनीको सपना पनि लोक सेवा नै पास गर्नेछ ।’
–भारतमा मजदुरी गर्ने पिताका ५ छोराछोरी सरकारी सेवामाईकान्तिपुरबाट