☰ open Loading... 20 January 2025|  

पंचकोशी तिर्थस्थलमा बने कलात्मक धाराहरु
पश्चिम नेपाल   | १२ मंसिर २०८१, बुधबार ०९:२४

दैलेखको धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोशीमा प्रदेश सरकारबाट कलात्मक धाराहरू बनाइएका छन्। तीर्थयात्रुलाई नुहाउन सजिलो होस् भनेर प्रदेश सरकारबाट बृहत् खानेपानी योजनाबाट कलात्मक धारा बनाइएका हुन्।

पञ्चकोशी क्षेत्रको श्रीस्थान, पादुका, धुलेश्वर कोटिला, नाविस्थान र तल्लो डुंगेश्वरमा गरेर ६ स्थानमा धारा बनेका हुन्। श्रीस्थानमा धारा निर्माण चरणमा भए पनि अन्य स्थानमा बनिसकेको जनाइएको छ। श्रीस्थानबाहेक अन्य पाँच स्थानका धारामा पानी झर्न थालेसँगै पञ्चकोशी दर्शन गर्न आउनेहरू खुसी हुने गरेका छन्। खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका अनुसार गत वर्ष उपभोक्ता समितिबाट र यो वर्ष टेन्डर प्रक्रियाबाट धारा बनाइएका हुन्। धाराको संरचना तयार भए पनि बाँकी काम यो वर्ष सक्ने गरी तीव्र गतिमा भइरहेको कार्यालयका प्रमुख टोपेन्द्र सुन्दर मल्लले बताए।

कर्णाली प्रदेश सरकारले धाराहरू बनाउन पञ्चकोशी विकास बृहत् खानेपानी आयोजनामा गत वर्ष चार करोड र यो वर्ष दुई करोड रूपैयाँ विनियोजन गरेको छ। यसमा गर्त वर्ष धाराको संरचना तयार भएको हो। तीर्थ गर्न आउने भक्तजनको सुविधाका लागि कलात्मक ढुंगे धारा बनाइएपछि पञ्चकोशी क्षेत्रको आर्कषण अझ बढेको छ। पञ्चकोशी क्षेत्रको विकासका लागि कलात्मक धाराहरू विकासको पहरेदार भएको स्थानीय बताउँछन्।

धार्मिक पर्यटन विकासका लागि पञ्चकोशी क्षेत्र पवित्रस्थल भएकाले प्रचार–प्रसार र विकासका लागि सरकारले गुरुयोजना बनाउनुपर्ने स्थानीय अगुवा तथा पर्यटन व्यवसायी रूपक थापाले बताए। ‘गुरुयोजना बनाएर सरकारले काम गर्न सके पञ्चकोशी क्षेत्रको विकास हुने थियो’, पर्यटन व्यवसायी थापाले भने, ‘पञ्चकोशी क्षेत्र विकास समिति सरकारले गर्नुपर्छ अनि मात्र विकासले फट्को मार्नेछ।’

पञ्चकोशी क्षेत्रमा ज्वाला निरन्तर शदीयौंदेखि बलिरहेको छ। शिवरात्रीमा यहाँका विभिन्न मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ। सरकारले यही क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषण गरिरहेको छ।