☰ open Loading... 20 January 2025|  

स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो
पश्चिम नेपाल   | १२ मंसिर २०८१, बुधबार ०९:३५

कर्णाली प्रदेश अन्तर्गत स्थानीय तहका रिक्त ८ वटा पदमा हुने उपनिर्वाचनमध्ये दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । महावुमा पालिका अध्यक्ष पदकै लागि उपनिर्वाचन हुने भएकाले दलहरूले यसलाई प्रतिष्ठाको विषय बनाएका हुन् ।

विशेषगरी ठुला तीन दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बाहुल्यता रहेको महावुमा ७ जनाको उम्मेदवारी परेको छ ।

यहाँ कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादीबाट जंगबहादुर बराल मगर, एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट जगत बहादुर हमालको उम्मेदवारी दर्ता भएको छ । यस्तै राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगरलाई उम्मेदवार बनाएको छ ।

यहाँ विशेषगरी कांग्रेस, एमाले, माओवादी र रास्वपाका उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । रास्वपाले उम्मेदवारी दर्ता गराएसँगै अन्य दलहरू झस्किएका छन् भने प्रमुख दलका ठुला नेताहरू समेत आ–आफ्ना उम्मेदवारका पक्षमा माहोल बनाउन महावु पुग्ने गरेका छन् ।

आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाउन कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, कांग्रेस नेता जीवन परियार, मधु आचार्य, प्रदेश सभापति ललितजंग शाही लगायतका नेताहरू महावु पुगे । रास्वपाबाट पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, कोषाध्यक्ष लिमा अधिकारी महावु पुगेका छन् । स्वर्णिम वाग्ले र मनिष झा पनि रास्वपाको माहोल बनाउन महावु पुग्ने बताइएको छ ।

यस्तै माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल, पूर्वमुख्यमन्त्री राजकुमार शर्मा लगायतका केन्द्रीय तथा प्रदेशका नेताहरू महावु पुगेका छन् ।

मतदातामा भने विगतमा जस्तो आकर्षण देखिएको छैन । यहाँका अधिकांश पुरुष रोजगारीका सिलसिलामा भारतमा छन् भने युवा समूह अध्ययनका लागि वीरेन्द्रनगर लगायतका सहरहरूमा छन् । राजनीतिप्रति बढ्दो वितृष्णाका कारण मत न्यून मात्रामा खस्ने अनुमान गरिएको छ ।
महावुमा दलहरू एक्लाएक्लै चुनावी मैदानमा छन् । ०७९ को निर्वाचनमा पालिका अध्यक्ष जितेको कांग्रेसलाई आफ्नो विरासत जोगाउनुपर्ने चुनौती छ भने एमालेले नतिजा आफ्नो पक्षमा पार्ने रणनीति अन्तर्गत अर्को पार्टीको नेतालाई एक्कासी भित्र्याएर उम्मेदवार बनाएको छ । यहाँ रास्वपा भने विदेश रहेका युवा शक्तिहरूको भरमा छ भने माओवादी विगतमा एमाले–कांग्रेस दुवैले राम्रो काम गर्न नसकेको भन्दै यो पटक आफ्नो पक्षमा नतिजा आउने आशमा छ ।

मतदातामा भने विगतमा जस्तो आकर्षण देखिएको छैन । यहाँका अधिकांश पुरुष रोजगारीका सिलसिलामा भारतमा छन् भने युवा समूह अध्ययनका लागि वीरेन्द्रनगर लगायतका सहरहरूमा छन् । राजनीतिप्रति बढ्दो वितृष्णाका कारण मत न्यून मात्रामा खस्ने अनुमान गरिएको छ ।

महावु गाउँपालिकामा कुल मतदाता संख्या १२ हजार ६१४ छ । यहाँ २०७९ सालको निर्वाचनमा कांग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत पाएर विजयी भएका थिए । ०७९ माघ २७ गते हृदयघातका कारण उनको मृत्यु भयो । गुरुङका निकटम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत पाएका थिए भने नेकपा एकीकृत समाजवादीका जंगबहादुर शाहीले २ हजार २६९ मत पाएका थिए ।

अघिल्लो निर्वाचनमा यहाँ माओवादीले उम्मेदवार उठाएको थिएन । राप्रपाका रजबहादुर सिंहले उम्मेदवारी दिए पनि जम्मा १२ मत पाएका थिए ।

यद्यपि माओवादीले महावुलाई आफ्नो राम्रो पकड क्षेत्र मान्दै आएको छ । रास्वपाले पहिलो पटक स्थानीय तहको निर्वाचनमा सहभागी भएको हो । रास्वपाबाट उम्मेदवार बनेका बुढा युवाहरूबिच चिनिएका र समाजसेवी हुन् ।

जेसिज दैलेखका अध्यक्ष उनी कपडा व्यापारी पनि हुन् । सामाजिक कार्यक्रमा सक्रिय ३१ वर्षीय बुढाले स्नातकसम्मको अध्ययन गरेका छन् । उनी रक्तदानका अभियन्ता पनि हुन् ।

यस्तै कांग्रेसबाट उम्मेदवार बनेका भण्डारी पनि इमानदार, युवा पुस्तामा चिनिएका व्यक्ति हुन् । उनी नेपाल विद्यार्थी संघमा ०५५ सालबाट आबद्ध भएका थिए । ०६५ स्वतन्त्र विद्यार्थी युनियन सुर्खेत बहुमुखी क्याम्पसको सचिव भएका उनी ०७९ सालमा नेविसंघ मध्यपश्चिम विश्वविद्यालय कमिटीको सभापति बने । उनी ०७२ मा कांग्रेसको १३ औँ महाधिवेशनबाट दैलेख जिल्ला कार्य समिति सदस्य निर्वाचित भएका थिए ।

माओवादीबाट उम्मेदवार रहेका बराल पाका नेता हुन् । उनी जनयुद्धकालमै अधिवक्ता थिए । कानुन सङ्कायमा बीएल पास उनी जनतामा परिचित व्यक्ति नै हुन् । शालिन र बौद्धिक नेताको छवि बनाएका उनी ०७९ कै निर्वाचनमा उम्मेदवार बने पनि पराजित भएका थिए । उनी पार्टीको प्रदेश कमिटी सदस्य छन् ।

उम्मेदवारहरू यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सबैजसोले सुशासन, विकास र समृद्धि शब्दलाई नै एजेण्डा बनाएका छन् ।
एमालेबाट उम्मेदवार बनेका शाहीको राजनीतिक पृष्ठभूमि भने अस्थिर छ । ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट चुनाव जितेका उनी एमाले विभाजनका क्रममा नेकपा एकीकृत समाजवादीतिर लागे । ०७९ को स्थानीय तहको निर्वाचनमा उनी पुनः समाजवादीबाट अध्यक्षको उम्मेदवार बने तर, पराजित भए । अहिले एमालेले उम्मेदवार बनाउने भएपछि उनी एमालेमा प्रवेश गरेर उम्मेदवार बनेका छन् ।

उनको अस्थिर चरित्रका कारण मतदातामात्र होइन, स्वयं एमाले पार्टीभित्रकै कतिपय नेता, कार्यकर्ताहरू असन्तुष्ट बनेको एक नेताले रातोपाटीलाई बताए । ‘हाम्रो पार्टीले उम्मेदवार बन्न लायक मान्छे नपाएजस्तो अर्को पार्टीबाट टपक्क टिपेर ल्याएर उम्मेदवार बनाइयो,’ ती नेताले भने, ‘जनताले अहिले त्यो कुरा रुचाउँदैनन् ।’

उम्मेदवारहरू यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सबैजसोले सुशासन, विकास र समृद्धि शब्दलाई नै एजेण्डा बनाएका छन् । रातोपाटीले मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस, माओवादी, एमाले र रास्वपाका उम्मेदवारहरूसँग छोटो–छोटो कुराकानी गरेको छ ।

महावुमा घण्टी बज्छ : प्रकाश कुमार बुढा (रास्वपाका उम्मेदवार)

तपाईंको एजेण्डा के हो ? घरदैलोमा पुग्दा रास्वपाप्रति जनताको प्रतिक्रिया के कस्तो छ ?

घरदैलोमा पुग्दा पुराना राजनीतिक दलहरूप्रति जनताको पूरै वितृष्णा छ । केही टोलमा अझै पनि खानेपानी अभाव छ । उहाँहरूले विगतदेखि नै कांग्रेसलाई मत हाल्दै आउनु भएको रहेछ तर अहिले निराश हुनुहुन्छ । उहाँहरूको आशा युवा पुस्ता र नयाँ राजनीतिक दलप्रति रहेको पाएँ । त्यसमा पनि रास्वपाप्रति अझ अपेक्षा रहेको पाएको छु ।

कांग्रेसको पनि युवा र बलियो उम्मेदवार छन्, एमालेबाट पूर्वअध्यक्ष नै उम्मेदवार छन्, तपाईँले आफ्नो प्रतिस्पर्धी कुन दललाई मान्नुहुन्छ ?

यहाँ अहिले त्रिपक्षीय प्रतिस्पर्धा नै होलाजस्तो छ । तर रास्वपाको मेन शक्ति देश बाहिर छ । उहाँहरूले घरमा फोन गरेर घण्टी पार्टीलाई सहयोग गर्नुपर्छ है भनेर आफ्ना अभिभावकसँग भनिरहनु भएको छ । मलाई पनि आफैँ फोन गरेर धेरैले यो पटक हाम्रो सहयोग तपाईंलाई नै हुन्छ भनिरहनु भएको छ । तर मैले घरदैलो अभियानको क्रममा प्राप्त गरेको प्रतिक्रिया अनुसार कांग्रेससँग रास्वपाको प्रतिस्पर्धा हुन्छ कि भन्ने लागेको छ । कांग्रेसभित्र थुप्रै समस्या छन् ।

चुनाव जित्छु जस्तो लाग्छ कि ?

एकदमै । जनताको आशा र भरोसाले नै जित्छु भन्ने विश्वास जागेको छ । जनता परिवर्तनको पक्षमा छन् । रास्वपा परिवर्तनको पक्षधर पार्टी भएकाले पनि जनताले यो पटक मतदान गर्दा विचार पुर्‍याउनुहुन्छ र महावुमा घण्टी बज्छ ।

कति मत आउला ?

त्यो त पछि नै थाहा होला !

३–४ सय मतान्तरले चुनाव जित्छु : झलकबहादुर भण्डारी (कांग्रेस उम्मेदवार)

घरदैलो कार्यक्रममा जाँदा जनताको आवश्यकता के पाउनुभयो ?

अहिलेसम्म तीन वटा वडामा घरदैलो कार्यक्रम गरेँ । त्यस क्रममा जनताको भनाइ छ– नेताहरू चुनावका बेलामात्रै गाउँमा आउँछन् ।

मैले भन्ने गरेको छु– म एउटा युवा मान्छे हुँ, केही काम गर्न सक्छु । उहाँहरूले युवालाई सपोर्ट गर्छौं भन्नुभएको छ । जनप्रतिनिधिहरू चुनाव जितेपछि गाउँ नफर्किने हुँदा आक्रोश बढेको पाइयो । यद्यपि अहिले मप्रति सकरात्मक प्रतिक्रिया पाएको छु ।

तपाईं कुन दललाई आफ्नो प्रतिस्पर्धी मान्नुहुन्छ ?

अहिले यहाँ समाजवादीको उम्मेदवारले एमालेलाई सहयोग गरेजस्तो छ, उहाँले भोट नै नमागेको अवस्था छ । त्यसैले एमाले नै कांग्रेसको प्रमुख प्रतिस्पर्धी हो ।

अनि रास्वपाको पनि युवा उम्मेदवार हुनुहुन्छ नि ?

युवा, देशविदेशमा भएका साथीहरूलाई रास्वपाप्रति चासो देखाइरहनु भएको छ । तर स्थानीय लेवलमा संगठन नभएका कारण खासै प्रभाव छैन । बरु माओवादी तेस्रोमा आउँछ, रास्वपा चौथो हो ।

उसो भने चुनाव जित्नुहुन्छ ?

म त चुनाव जित्ने नै भनेर आएको हो नि, त्यही विश्वासका साथ मैदानमा छु ।

चुनाव जित्ने आधार के हो ?

पहिलो कुरा म युवा हो । अर्को, म फरक तरिकाले जनतामाझ प्रस्तुत भएको छु । म आफैँ पनि ग्रामीण विकास पढेको मान्छे हो, यहाँको सामाजिक अवस्था अध्ययन गरेको छु, समाज बुझेको छु । म खाली कागज हुँ, कतै खोट छैन । अर्को, महावु बनाउने प्रस्ट धारणा मसँग छ ।

उसो भने कति मत ल्याएर जित्नुहुन्छ त ?

अहिले नै ठ्याक्कै यति नै त भन्न नसकिएला तर, ३ देखि ४ सय मतान्तरले चुनाव जित्छु । अहिले यहाँका धेरेजसो मान्छे बाहिर छन्, मत कमै खस्छ ।

माओवादीले चुनाव जितिसकेको अवस्था छ : जंगबहादुर बराल मगर ( माओवादी केन्द्रका उम्मेदवार)

घरदैलो अभियान कस्तो चल्दै छ, जनताले के भन्छन् ?

अहिलेसम्म चार वडामा घरदैलो कार्यक्रम सकियो । विशेषगरी पालिकाको नेतृत्वमा पुगेका कांग्रेस र एमालेले खासै काम गर्न सकेनन्, उनीहरू जितेर गाउँ फर्किएनन्, अहिले चुनावको बेलामात्रै आउँछन् भनेर जनताले भनिरहेका छन् । मैले भनेको छु, ‘हिजो हामी जनयुद्धमा थियौँ । इमानदारीका साथ हामीले देशमा राजनीतिक परिवर्तन गरेका छौँ । अब हामी जनताको अवस्था बदल्नका लागि लागिरहेका छौँ, त्यो पनि सुशासनसहितको विकास ।’ हामीले आशाको बिउ रोप्ने काम गरिरहेका छौँ ।

रास्वपासहित कांग्रेस, एमालेबाट बलिया उम्मेदवार छन्, तपाईंको प्रतिस्पर्धी कुन दल हो ?

युवा साथीहरू आइरहनु भएको छ । तर राजनीतिक रूपमा उहाँहरू युवा हैन । सुशासनको यात्रामा माओवादी भन्दा अरु दल पछि छन् । एमाले र कांग्रेसका साथीहरूको काम देखिसकिएको अवस्था छ, त्यसैले जनता हाम्रो पक्षमा छन् । कुशासनका विरुद्धमा माओवादीले एक्लै प्रतिस्पर्धा गरिरहेको छ ।

उसो भए चुनाव सहजै जित्नुहुन्छ ?

चुनाव जितिसकेको अवस्था छ । जनताले पनि यो विजय हो भनेर भनिरहेका छन् ।

त्यसको आधारचाहिँ के हो ?

कांग्रेस–एमालेबाट जनताको मुक्ति सम्भव छैन । पार्टी पुरानै भए पनि माओवादीले निकास दिनसक्छ भनेर हामीप्रति जनताको विश्वास हो ।

कति मत ल्याउनुहुन्छ ?

धेरै मान्छे विदेशमा छन्, खस्ने मत ७ हजारजति हो । त्यसैले २४ सय मत ल्याएर चुनाव जितिन्छ भन्ने लागेको छ ।

६० प्रतिशत मत ल्याएर चुनाव जित्छु : जंगबहादुर शाही (एमाले उम्मेदवार)

घरदैलो अभियान कस्तो चल्दै छ, जनताबाट प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

माहोल सकारात्मक छ । जनताले मलाई चाहिरहेको अवस्था छ । विगतमा म अध्यक्ष हुँदा गरेका काम कांग्रेस नेतृत्वको सरकारले लथालिङ्ग पारेको छ । ती कामलाई मूर्तरुप दिन, सुशासन कायम, सामाजिक रुपान्तरणका लागि मेरो उम्मेदवारी हो र नागरिकले पनि तपाईंको आवश्यकता छ भनेर भनिरहेका छन् । मेरो उम्मेदवारीले सबै मतदाता ‘ह्याप्पी’ हुनुहुन्छ ।

आफ्नो स्वार्थका लागि पार्टी फेर्ने, अस्थिर व्यक्ति भनेर एमालेभित्रकै कार्यकर्ताले भनिरहेका छन् नि ?

त्यस्तो हैन । एमाले र समाजवादी दुवै पार्टीका नेता, कार्यकर्ताको सल्लाह अनुसार मेरो उम्मेदवारी हो । दुवै पार्टीले मलाई सहयोग गर्छन् । समाजवादीले सहयोग गरिसक्यो, समाजवादीबाट उम्मेदवारी दिएको साथीले मेरै पक्षमा कुरा गरिरहनु भएको छ । अब केही दिनमै मेरै पक्षमा सार्वजनिक कार्यक्रममार्फत घोषणा गर्नुहुन्छ ।

रास्वपा र कांग्रेस दुवै दलका उम्मेदवार युवा छन्, तपाईंको खास प्रतिस्पर्धी पार्टी कुन हो ?

अहिले त कांग्रेस नै हो । बिचमा कांग्रेसले खासै काम गर्न सकेन । हिजो मेरो पालामा सुरु भएका धेरै काम अलपत्र परेका छन् । सडक, विद्युत्को काम अहिलेसम्म पूरा भएको छैन । त्यो गर्नुपर्ने छ । ती काम सम्पन्न गर्न र नयाँ आशाको प्रत्याभूति दिनका लागि मेरो उम्मेदवारी हो ।

चुनाव जिन्छु भन्ने विश्वास छ ?

चुनाव त सहजै जितिहालिन्छ नि । ०७९ को चुनावमा कांग्रेस र समाजवादीले नै पाएको भोट हिसाब गरे पनि हामी सहजै जित्छौँ ।

कति मत ल्याउनुहुन्छ ?

यहाँ कुल मतदातामध्ये करिब ५५ प्रतिशत भोट खस्ने मेरो अनुमान छ । त्यसको ६० प्रतिशत मत मेरो पक्षमा आउँछ ।

रातोपाटीबाट