☰ open Loading... 20 January 2025|  

कर्णालीमा कांग्रेसलाई क्षति, अरु दलको अबस्था कस्तो छ ? पढनुहोस ।
पश्चिम नेपाल   | १७ मंसिर २०८१, सोमबार २०:३४

कर्णालीका आठ स्थानमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले २०७९ सालमा जितेका प्रमुख पदहरु गुमाएको छ। अघिल्लो पटक जितेका कर्णालीको एक गाउँपालिका अध्यक्ष र नगरपालिका उपमेयर कांग्रेसले गुमाएको छ। कांग्रेसले जितेको दैलेखको महाबु गाउँपालिकाका अध्यक्षमा एमाले विजयी भएको छ भने जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद माओवादी केन्द्रले जितेको छ।

निर्वाचन आयोगका अनुसार महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही विजयी भएका छन्। उनले तीन हजार १२७ मत ल्याएर विजयी हुँदा अघिल्लो पटकको विजेता कांग्रेसले दुई हजार ६७५ मत प्राप्त ग¥यो। अघिल्लो पटक कांग्रेसबाट विजयी लक्षुमन गुरुङको निधन भएपछि यहाँ कांग्रेसले झलक भण्डारीलाई उम्मेदवार बनाएको थियो। अघिल्लो पटक कांग्रेसका गुरुङले दुई हजार ९७९ मत ल्याएर विजयी हुँदा एमालेका हरि उपाध्यायले दुई हजार ५१९ मत प्राप्त गरेका थिए।

यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रले बाजी मारेको छ। माओवादी केन्द्रकी देवका लामिछानेले चार हजार २७२ मत प्राप्त गरेर विजयी भइन्। कांग्रेस उम्मेदवार चन्द्रा चन्द सिंहले तीन हजार १४७ मत प्राप्त गरिन् भने एमालेकी सुनिता बोहराले दुई हजार ५४२ मत प्राप्त गरिन्। जाजरकोटमा गत कात्तिक १७ गते राति आएको भूकम्पमा कांग्रेसबाट निर्वाचित सरिता सिंहको निधन भएपछि यहाँ उपनिर्वाचन भएको थियो।

अघिल्लो निर्वाचनमा यहाँ माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गरेर चुनाव लडेका थिए। मेयर माओवादी केन्द्रबाट जित्दा उपमेयरमा सरिताले पाँच हजार ४०६ मत प्राप्त गरेर विजयी भएकी थिइन्।

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना भइरहेको छ। माओवादी केन्द्रबाट विजयी भएका चन्द्रसिंह कार्कीको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । यहाँ पनि माओवादी केन्द्रले सुरुवातदेखि अग्रता लिइरहेको छ। माओवादी केन्द्रकी देवकी तिमल्सेनाले अग्रता लिइरहेकी छन्।

एमालेमा फर्किएर फेरि अध्यक्ष

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित भए। एमाले फुटेर एकीकृत समाजवादी नयाँ पार्टी बन्यो। शाही समाजवादीतिर लागे। २०७९ सालमा भएको निर्वाचनमा उनी समाजवादीबाट अध्यक्ष उम्मेदवार बने। समाजवादीबाट उठेका उनी तेस्रो स्थानमा रहे । एमाले पार्टी फुटको फाइदा कांग्रेसले लियो।

कांग्रेसका लक्षुमन गुरुङ दुई हजार ९७९ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित हुँदा एमालेका हरि उपाध्यायले दुई हजार ५१९ मत प्राप्त गरेर निकतम प्रतिद्वन्द्वी बने। समाजवादीबाट चुनावी मैदानमा उत्रिएका शाहीले दुई हजार २६८ मत प्राप्त गरे।

‘महाबुमा एमाले बलियो शक्ति हो, २०७९ मा पार्टी फुटको फाइदा कांग्रेसले उठायो,’ स्थानीय एमाले नेताले भने, ‘यो पटक समाजवादीलाई पार्टीमा विलय गराएर फेरि चुनाव जित्यौँ।’ २०७४ यता शाही तीन पटक स्थानीय तहको प्रमुखमा प्रतिस्पर्धी बने। दुई पटक एमालेबाट उनी अध्यक्षमा निर्वाचित भए। स्थानीय तहको निर्वाचनको मुखैमा उनी एमाले प्रवेश गरेका थिए। समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रहेका उनी एमाले प्रवेश गरेपछि समाजवादीले जगतबहादुर हमाललाई उम्मेदवार बनाएको थियो। उनी पनि मौन अवधिको अघिल्लो दिन एमालेको सभामा पुगेर सूर्यमा भोट हाल्न आव्हान गरे।

जो तेस्रो पटक चुनाव हारिन्

जाजरकोटको नलगाड नगरपालिकामा उपमेयरका लागि २०७४ यता तीन पटक निर्वाचन सम्पन्न भएको छ। २०७४, २०७९ र हालै भएको उपनिर्वाचन गरेर तीन वटैमा नेकपा एमालेबाट सुनिता बोहरा उपमेयरको उम्मेदवार थिइन्। तीन वटै निर्वाचनमा उनी पराजित भइन्।

निर्वाचन आयोगको रेकर्ड अनुसार २०७४ सालमा भएको निर्वाचनमा माओवादी केन्द्रकी बालकुमारी बस्नेत तीन हजार २४१ मत ल्याएर विजयी हुँदा कांग्रेसकी धनमाया शाहीले दुई हजार ९१२ ल्याएकी थिइन् भने सुनिताले दुई हजार ६२३ मत प्राप्त गरिन्।

यस्तै नलगाडमा २०७९ सालमा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन थियो। माओवादीको मतसमेत पाएर कांग्रेसकी सरिता सिंह विजयी भइन्। सिंहले पाँच हजार ४०६ मत प्राप्त गरेर विजयी हुँदा सुनिताले तीन हजार ३९३ मत प्राप्त गरिन्। कांग्रेसबाट विजयी सुनिताको गत वर्ष फागुन १७ गते निधन भएपछि यहाँ आइतबार उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा माओवादीले बाजी मार्दा सुनिता तेस्रो स्थानमा आइन्। यहाँ माओवादी केन्द्रकी देवका लामिछानेले चार हजार २७२ मत ल्याउँदा कांग्रेसकी तीन हजार १४७ मत ल्याइन् भने एमालेकी सुनिताले दुई हजार ५४२ मत प्राप्त गरिन्।

वडाध्यक्षमा कांग्रेस अगाडि

कर्णालीमा पाँच वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा कांग्रेसले दुई वटा वडा जितेको छ भने एमाले, माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीले एक–एक वडाध्यक्ष जितेको छ।

निर्वाचन आयोगका अनुसार रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार विजयी भएका छन्। यहाँ अघिल्लो निर्वाचन माझै यस पटक पनि कांग्रेस र एमालेबिच गठबन्धन थियो।

माओवादी केन्द्रको आधार इलाका भनिदैं आएको यहाँ कांग्रेसका मोतीराम खत्री विजयी भए। खत्री ५९० मत प्राप्त गरेर विजयी हुँदा माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत प्राप्त गरे। २०७९ मा भएको निर्वाचनमा कांग्रेसका अलबहादुर खत्री ४६२ मत प्राप्त गरेर विजयी भएका थिए भने माओवादीका तीर्थराज खत्रीले ४३४ मत प्राप्त गरेका थिए।

यस्तै जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा पनि कांग्रेस विजयी भएको छ। अघिल्लो निर्वाचनमा यहाँ माओवादी केन्द्रले जितेको थियो। उपनिर्वाचनमा कांग्रेसका खम्मबहादुर सिंहले ३४७ मत प्राप्त गरेर विजयी भए। माओवादी केन्द्रले ३३२ मत र एमालेले २५२ मत प्राप्त गरे। कांग्रेसबाट निर्वाचित सिंह २०७९ सालमा भएको निर्वाचनमा माओवादी केन्द्रका मनबहादुर घर्तीसँग पराजित भएका थिए। घर्तीले ३८० मत प्राप्त गर्दा उपनिर्वाचनमा जितेका सिंहले ३१८ मत ल्याएका थिए।

डोल्पाको त्रिपुरा सुन्दरी गाउँपालिका–५ मा भएको उपनिर्वाचनमा माओवादी केन्द्रले बाजी मारेको छ। २०७९ मा एमालेले जितेको यो वडामा माओवादी केन्द्रका नरबहादुर झाक्री विजयी भए। उनले १६१ मत प्राप्त गर्दा एमालेका नरबहादुर रोकाले ११६ मत प्राप्त गरे। अघिल्लो निर्वाचनमा यहाँ एमालेका नन्दलाल रोका विजयी भएका थिए। उनी १०८ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका जंगबहादुर रोकायले १०२ मत ल्याएका थिए। उक्त निर्वाचनमा झाक्री कांगेसबाट उम्मेदवार बनेर ८२ मत प्राप्त गरेका थिए। उपनिर्वाचनमा उनी माओवादी केन्द्रमा प्रवेश गरेर चुनाव लगेका थिए। यहाँ कांग्रेसले जम्मा २१ मत मात्रै प्राप्त ग¥यो।

कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाल मजदुर विकास पार्टीले बाजी मा¥यो। नेमकिपाका खड्कराज शाही १४३ मत प्राप्त गरेर विजयी भए। उहाँ अघिल्लो निर्वाचनमा माओवादी केन्द्र विजयी भएको थियो। निर्वाचन आयोगका अनुसार २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रका परबहादुर शाही २३४ मत प्राप्त गरेर विजयी भएका थिए।

यस्तै दैलेखको दुल्लू नगरपालिका–१३ को वडाध्यक्षमा एमाले विजयी भएको छ। अघिल्लो निर्वाचनमा पनि यहाँ एमालेका उम्मेदवार विजयी भएका थिए। उपनिर्वाचनमा यहाँ एमालेका लालबहादुर शाहीले ५७४ मत ल्याएर विजयी भए भने कांग्रेसका रेशमबहादुर शाहीले ५७१ र माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले २७८ मत प्राप्त गरेका थिए।

रास्वपालाई न्यून मत

पहिलो पटक स्थानीय तहको निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई कर्णालीमा न्यून मत प्राप्त भएको छ। यहाँका आठ स्थानीय तह मध्ये रास्वपाले पाँच ठाउँमा उम्मेदवारी दिएको थियो। दैलेखको महाबु गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका रास्वपाका प्रकाशकुमार बुढाले जम्मा ११२ मत प्राप्त गरे।

यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी रास्वपाकी पार्वती पुनले १७९ मत प्राप्त गरिन् भने मतगणना भइरहेको हुम्लाको सर्केगाड गाउँपालिकामा उम्मेदवारी दिएकी बाँचा बुढा स्वतन्त्र उम्मेदवार भन्दा पछाडि छन्।

यस्तै दैलेखको दुल्लू नगरपालिका–१३ को वडाध्यक्षमा उम्मेदवारी दिएका रामबहादुर शाहीले ५३ मत प्राप्त गरे भने कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा उम्मेदवारी दिएका गगन बलमे पाँच मत प्राप्त गरे।