कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट साबिकको कर्णालीका तीन जिल्लामा आन्तरिक हवाई उडान सुरु भएको छ ।
कर्णाली प्रदेशमा आन्तरिक उडान नहुँदा लुम्बिनी प्रदेश भएर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सडकमार्ग भएर आउनुपर्ने बाध्यता थियो ।
तारा एयरलाइन्सको जहाजले बुधबारदेखि कर्णालीको सुर्खेतदेखि जुम्ला, मुगु र हुम्लामा उडान सुरु गरेको हो । सुर्खेत र माथिल्लो कर्णालीमा सिधा उडान सुरु भएपछि निकै राहत हुने कर्णालीबासीले जनाएका छन् ।
स्थानीय जयबहादुर रावतले आन्तरिक उडान नहुँदा नेपालगन्जसम्म जहाजमा गएर सडक हुँदै सुर्खेतसम्म पुग्नुको पीडा निकै बढी हुने बताए । उनले भने, ‘अब मात्र सुर्खेत प्रदेश राजधानी हो भन्ने आभास हुनेछ ।’
हरेक बुधबार र शनिबार सुर्खेतदेखि तारा एयरलाइन्सले उडान भर्ने कार्यतालिका छ । तारा एयरलाइन्स नेपालगन्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीका अनुसार हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा पाएको छ । कर्णाली प्रदेश राजधानीबाटै आन्तरिक उडान सुरु हुँदा सुर्खेतमा बसोबास गरिरहेका हुम्ला, मुगु र जुम्लाका विद्यार्थी र स्थानीय निकै उत्साहित बनेका छन् । सुर्खेत–सिमिकोट ८ हजार, सुर्खेत–रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको छ ।
आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सुर्खेतबाट व्यावसायिक रूपमा आन्तरिक उडान सुरु भएको हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मीनबहादुर रावलले जानकारी दिए । यसअघि सीता एयरले पनि सुर्खेत–जुम्ला व्यावसायिक उडान सुरु गरेको थियो ।