☰ open Loading... 22 December 2024|  

दुर्घटना बढ्न थालेपछि डीहरुको मेकानिकल जाँच
पश्चिम नेपाल   | २१ मंसिर २०८१, शुक्रबार ०९:१४

दुर्घटनाको दर बढ्न थालेपछि कर्णाली प्रदेशमा सवारीसाधनको जाँच गर्न थालिएको छ। पहाड चल्ने सार्वजनिक गाडीहरुको सुर्खेत ट्राफिक प्रहरीको अग्रसरतामा मेकानिकल जाँच सुरु गरिएको हो। पहिलो चरणमा दैलेख चल्ने गाडीहरुको मेकानिकल जाँच सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सुर्खेतबाट दैलेख सडक खण्डमा चल्ने विभिन्न खालका सवारी साधनहरूको मेकानिकल जाँच गरेको छ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यले सवारी साधनको प्राविधिक अवस्था परीक्षण गरिएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए।गाडीको मेकानिकल चेकजाँचमा ब्रेक, हेडलाइट, टायरको अवस्था, सवारीको लोड क्षमता, र अन्य आवश्यक उपकरणको परीक्षण गरिएको जनाईएको छ । पुरानो र मर्मतसम्भार नगरेका सवारी साधनलाई सडकमा चल्न रोक लगाउने र चालकलाई सचेत गराउने उद्देश्यले गाडी निरिक्षण गर्न थालेको हो। यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो चेकजाँचलाई निरन्तरता दिने योजना रहेको प्रहरी निरिक्षक सुनारले बताए ।

चेकजाँचको क्रममा ५ वटा बस, १७ वटा फोर्स गाडी, ७ वटा स्कार्पियो, १३ वटा जिप, १६ वटा मोटरसाईकल गरी ५८ वटा सवारी साधनको पहिलो चरणमा मेकानिकल जाँच गरिएको छ। चेकजाँचको क्रममा अधिकांस सवारी साधनमा लाईटहरू बिग्रिएको, स्वरुप परिवर्तन गरिएको, केही सवारी साधनको ब्रेकको अवस्था ठिक अवस्थामा नरहेको साथै अन्य समस्याहरू भेटिएको चेकजाँचमा खटिएका मेकानिकल मिस्त्रीलाई उदृत गर्दै ट्राफिक प्रहरीले जानकारी दिए।

कर्णालीका सवै जिल्लामा सुर्खेतबाट छुट्ने गाडीहरुको विशेष रुपमा मेकानिकल जाँच क्रमश गरिने प्रहरी निरीक्षक सुनारले बताए।जिल्लामा ट्राफिक प्रहरी प्रमुख भएर सुनार आएयता दुर्घटना न्यूनिकरण, यात्रु सुरक्षाका क्षेत्रमा राम्रो काम गरेको यातायात ब्यवसायीहरु बताउँछन्।

त्यस्तै सुर्खेत काँक्रेविहार यातायात समिति लगायतकाहरुसंग सहकार्यमा ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दैलेख लगायत साविकका कर्णाली जाने गाडीका चालकहरुको स्वास्थ्य जाँच कार्यक्रम समेत गरिएको छ ।