☰ open Loading... 22 December 2024|  

पश्चिमी न्यून चापीय प्रणालीले वर्षा र हिमपातको सम्भावना
पश्चिम नेपाल   | २२ मंसिर २०८१, शनिबार ०८:३३

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानहरूमा आइतबार साँझदेखि आंशिक बदलीको सम्भावना रहेको छ।

२०८१ मंसिर २३ गतेदेखि २४ गतेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ।

यसका साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा, र गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने जनाइएको छ।

शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ, जबकि बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ।

कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ। राति पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ।

वर्षा, हिमपात र चिसोका कारण जनजीवन, स्वास्थ्य, पर्वतारोहण र यातायातमा असर पर्न सक्ने देखिएकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।