सरकारले स्तन क्यान्सर परीक्षण गर्ने ‘थ्री-डी म्यामग्राफी’ मेसिन लागतभन्दा बढी मूल्यमा खरिद गरेको पाइएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले म्यामग्राफी खरिद गरेको हो। मेसिन खरिद गर्दा बजार मूल्यभन्दा बढी देखाएर करोडौं रूपैयाँ घोटाला गरिएको आशंका छ।
विभागले बिपी अस्पताल धरान, भरतपुर क्यान्सर अस्पताल, नारायणी अस्पताल, लुम्बिनी अस्पताल र सिभिल अस्पतालका लागि म्यामग्राफी मेसिन खरिद मूल्य लागतभन्दा दोब्बर देखाइएको छ। यो मेसिनको एउटाको मूल्य सामान्यतया बढीमा एक करोड ४० लाख रूपैयाँ पर्नेमा करिब दुई करोड ४० लाख रूपैयाँमा खरिद सम्झौता गरिएको छ।
विभागले गत असार मसान्तसम्म प्राप्त हुनेगरी पाँच थान थ्री–डी म्यामग्राफी किन्ने प्रक्रिया अघि बढाएको थियो। तर विभागले सबै मेसिन अहिलेसम्म प्राप्त गरेको छैन। नागरिकलाई प्राप्त भन्सार प्रज्ञापनपत्र अनुसार आयातकर्ता कम्पनीले भने सबै मेसिनको भुक्तानी रकम पाइसकेको छ। म्याक्सिम इनकर्पोरेसन टे«डर्स कम्पनीलाई पाँचवटा थ्री–डी म्यामग्राफी किनेर बुझाउने जिम्मा दिइएको थियो।
विभागले भने भनेअनुसारका मेसिन सबै आइसकेको दाबी गरेको छ। विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले सबै मेसिन आइसकेको दाबी गरे। ‘सामान सबै आइसकेको छ, सामान आएको छैन भनेर कसले हल्ला चलायो’, उनले भने। ती मेसिन विभागले १२ करोड ५५ लाख रूपैयाँमा खरिद गरेको हो। तर बजार मूल्यअनुसार पाँच करोड रूपैयाँभन्दा बढी नपर्ने विभागका एक बायोमेडिकल इन्जिनियरले बताए।
तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेतका पालामा ती मेसिन खरिद गर्ने निर्णय भएको स्रोतको दाबी छ। ‘म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सलाई नै खरिद गर्न दिन विभागका कर्मचारीले सेटिङ मिलाएका थिए’, स्रोतले भन्यो।
सबै मेसिन नआएका कारण अस्पतालमा जडान गर्न सकिएको छैन। मेसिन जडान भइनसकेको भने डा. चौरसियाले स्वीकार गरेका छन्। ‘मेसिन जडान हुने क्रममा छन्, अहिले जडान भइसकेका छैनन्’, उनले भने।
सबै मेसिन नआए पनि भुक्तानी दिइसकेको भन्ने विषय भने आफूलाई थाहा नभएको उनले बताए। ‘रकम भुक्तानीबारे मलाई जानकारी छैन, म अहिले बाहिर छु’, चौरसियाले भने।
विभाग स्रोतका अनुसार विभागकै कर्मचारीहरूको सेटिङमा म्यामग्राफी मेसिन खरिदका लागि म्याक्सिम इनकर्पोरेसन ट्रेडर्सलाई नै जिम्मा दिन दुईपटक बोलपत्र आह्वान गरिएको थियो। सुरुमा १९ अक्टोबर २०२३ मा विभागले ‘टु–डी म्यामग्राफी’ मेसिन खरिदका लागि भन्दै बोलपत्र आह्वान गरेको थियो।
टु–डी म्यामग्राफी मध्यमस्तरको मानिन्छ। १४ डिसेम्बर २०२३ मा गएर विभागको व्यवस्थापन महाशाखाले त्यो बोलपत्र रद्द गरेको थियो। ‘व्यवस्थापन महाशाखा १९ अक्टोबर २०२३ मा जारी गरिएको बोलपत्र रद्द गर्ने निर्णयमा पुगेको छ’, सूचनामा भनिएको थियो। बोलपत्र रद्द गर्नुपर्ने निर्णयको कारण भने सूचनामा उल्लेख गरिएको थिएन।
‘खरिदको सामान्य नियमबारे जानकारी राख्न जरुरी छ। कुनै पनि सामान किन्दा पहिले आवश्यकता निक्र्योल गरिन्छ, त्यसपछि बजेट सुनिश्चितता गरिन्छ र अन्तिममा मात्रै खरिद प्रक्रिया थालिन्छ। टेन्डर आह्वान गरेको ५० दिनपछि व्यवस्थापन महाशाखाले टु–डी म्यामग्राफी खरिद बोलपत्र रद्द गर्न निर्णय गर्दा कुनै कारण दिएन’, विभागकै एक कर्मचारीले भने। ती कर्मचारीका अनुसार त्यो टेन्डर एउटै कम्पनी मात्र सहभागी हुन पाउने गरी आह्वान गरिएको थियो। त्यो इटालियन कम्पनी ‘मेटल ट्रोनिका’ थियो। टु–डी म्यामग्राफी मेसिन उपलब्ध गराउन सक्ने अन्य थुप्रै कम्पनी नेपालमा भए पनि मेटल ट्रोनिकाको प्रविधिसँग मात्रै मेल खानेगरी टेन्डर आह्वान गरिएको थियो।
स्रोतका अनुसार मेटल ट्रोनिकाको नेपाली एजेन्ट भन्दै बालुवाटारस्थित म्याक्सिम इनकर्पोरेसनले दाबी गर्यो। जसको सञ्चालक सुन्दर भुसाल हुन्। तर मेटल ट्रोनिकाको नेपाली एजेन्ट सो कम्पनी नभएको देखियो। मेटल ट्रोनिकाको नेपाली आधिकारिक एजेन्ट आफू भएको दाबी शिवम् इन्टरप्राइजेजले गर्यो।
उक्त कम्पनी उज्ज्वल बस्नेतले सञ्चालन गरेका थिए। भुसालको दाबीविरुद्ध शिवम् इन्टरप्राइजेजका सञ्चाल बस्नेतले कानुनी उपचार खोज्ने बताए। भुसालको कम्पनीले म्यामग्राफी मेसिन खरिद गर्न नपाउने स्थिति नबनेपछि उक्त टेन्डर रद्द गरिएको स्रोतको दाबी छ।
पहिलो पटक खोलिएको टु–डी म्यामग्राफी मेसिन खरिद टेन्डर रद्द भएपछि विभागले ८ मे २०२४ मा थ्री–डी मेसिन खरिदका लागि बोलपत्र आह्वान गर्यो। दोस्रो पटक पनि उनै भुसालको म्याक्सिम इनकर्पोरेसन ट्रेडर्सलाई नै पर्नेगरी स्पेफिकेसन तयार पारी टेन्डर आह्वान गरिएको थियो।
दोस्रो पटक म्याक्सिम इनकर्पोरेसन ट्रेडर्स प्रालि, काठमाडौं नेपालसँग थ्री–डी म्यामग्राफी मेसिन पाँच थान नेपाली रूपैयाँ १२ करोड ५५ लाखमा खरिदका लागि सम्झौता गरी प्रक्रिया अघि बढाइएको थियो। त्यसबेला विभागको महानिर्देशक डा. संगीता मिश्र, व्यवस्थापन महाशाखाको निर्देशक डा. श्रवण थापा, खरिद शाखा प्रमुख चौरसिया, बायोमेडिकल इन्जिनियर पद्मा मिश्र र आशीष चौहान थिए। २०८१ असार २३ मा भन्सारले जारी गरेका कागजातअनुसार ती सबै मेसिन आइनसकेको देखिन्छ।
सबै मेसिन २०८१ असार २० मा उक्त कम्पनीले विभागलाई बुझाइसक्नुपर्ने तथा असार २८ र २९ मा सम्बन्धित अस्पतालमा पुगिसक्नुपर्ने थियो। तर विभागमा सबै मेसिन दाखिला नगरीकन बिल मात्रै पुर्याइएको स्रोतको दाबी छ।
यस विषयमा म्याक्सिम इनकर्पोरेसन ट्रेडर्सका सञ्चालक भुसालसँग सम्पर्क गर्न खोज्दा उनले प्रयोग गरिरहेको मोबाइलको स्वीच अफ थियो। विभागका एक कर्मचारीका अनुसा सो कम्पनीले यसअघि गरेका खरिद पनि विवादमा परेका थिए। यसअघि धनगढीका लागि करिब ४० करोड रूपैयाँको स्वास्थ्य सामान खरिद गर्दा पनि भुसालको कम्पनी विवादमा परेको ती कर्मचारीले बताए।
भुसालले नाइट्रिक अक्साइड मेसिन, एक्स्ट्रा कर्पोरियल मेब्रोन अक्सिजेनेसन मेसिन, बायोकेमेस्ट्री एनालाइजर, एचपिपी, डिएनए पिसिआर किट्स खरिद गर्दा पनि करोडौं रूपैयाँ घोटाला गरेको दाबी ती कर्मचारीको छ। त्यतिबेला पनि भुसालको कम्पनीलाई मिल्नेगरी टेन्डर मागिएको थियो।
नागरिकन्युजबाट