☰ open Loading... 22 January 2025|  

लागूऔषधसहित १२ जना पक्राउ
पश्चिम नेपाल   | २९ मंसिर २०८१, शनिबार १९:०५

प्रहरीले काठमाडौँसहित विभिन्न स्थानबाट १२ जना व्यक्तिहरूलाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ।

शुक्रबार साँझ कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीबाट २ जनालाई अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्राम सहित पक्राउ गरिएको हो। पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारका २४ वर्षीय सौगात दाहाल र मुगु खप्तड गाउँपालिका-४ का २४ वर्षीय कविराज शाही रहेका छन्। अस्थायी प्रहरी बिट गागलफेदीबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा गाँजासहित पक्राउ गरेका हुन्।

त्यस्तै, काठमाडौँको नागार्जुन नगरपालिका-५ छकडोलबाट २४ वर्षीय शिव पुतुवारलाई २ किलो ८ सय ग्राम गाँजासहित शुक्रबार दिउँसो पक्राउ गरिएको छ। प्रहरी बिट हलचोकबाट खटिएको टोलीले पुतुवारको टहराबाट गाँजा फेला पारेपछि उनलाई पक्राउ गरेको हो।

शनिबार बिहान चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ४२ वर्षीय मंगले तामाङलाई ४ किलो ३ सय ग्राम गाँजासहित पक्राउ गरिएको छ। प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको टोलीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बसमा जाँच गर्दा तामाङलाई गाँजासहित पक्राउ गरेका हुन्।

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका-१ पुष्पलाल चोकबाट ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ १ सय ५० ग्राम सहित पक्राउ गरिएको छ। पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका-२२ का ६१ वर्षीय राजेन्द्र कुमार गोडिया, ३२ वर्षीय यमुजिव खान र २६ वर्षीय मोहिद अन्सारी रहेका छन्।

पाल्पा रामपुर नगरपालिका-७ का ५१ वर्षीय कपिल रिजाललाई ९ सय १६ ग्राम गाँजासहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले तलासी गर्दा उक्त गाँजा फेला पारेको हो। यसैगरी, सोही नगरपालिका-४ की ६३ वर्षीया गीता लम्सालको घरमा तलासी गर्दा ८ सय ९० ग्राम गाँजासहित उनलाई पनि पक्राउ गरिएको छ।

सिन्धुली कमलामाई नगरपालिका-८ हर्दियाबाट ५ ग्राम ६ सय ९० मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ सहित ४१ वर्षीय यम बहादुर खत्रीलाई पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले बसमा जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो। साथै, शंकास्पद १ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ।

मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट २४ वर्षीय अभिषेक बस्नेतलाई १ ग्राम २ सय मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ सहित पक्राउ गरिएको छ। लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई जाँच गर्ने क्रममा अभिषेकलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।