महोत्तरी जिल्ला प्रशासन कार्यालयमा कार्यरत दुई नायब सुब्बा अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।
नायब सुब्बा अशोक कुमार यादवलाई सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरुले सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई काजकृया र क्षतिपूर्ति रकम उपलब्ध गराउन सहजीकरण गर्ने बहानामा रकम असुली गरेको पुष्टि भएको छ।
सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारले पाउनुपर्ने क्रिया खर्च र क्षतिपूर्ति उपलब्ध गराउन सहजीकरण गर्ने नाममा यादव र साहले मिलोमतो गरी सेवाग्राहीसँग रकम माग गरेको उजुरी अख्तियारमा परेपछि अनुसन्धान सुरु गरिएको थियो। यादवलाई घुस रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको हो।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार बिगो रकम २० हजार रुपैयाँ कायम गर्दै सोही ऐनअनुसार कैद र जरिवाना सजायको माग गरेको छ।
आयोगका प्रवक्ता नरहरि घिमिरेले सरकारी कार्यालयमा सेवाग्राहीसँग घुस माग्ने कार्यप्रति आयोगको शून्य सहनशीलता रहेको बताउँदै दोषीउपर कानुनी कारबाहीलाई निष्पक्ष रुपमा अघि बढाइने जानकारी दिए।