सखी कठायत ४५ वर्षकी भइन्। उनको ऊर्जा भने युवाकै जस्तो छ। आफ्नै हातले मरमसला तयार पार्छिन्,अचार बनाउँछिन्। बनाउने अन्य परिवारका सदस्य नभएका होइनन्। तर ‘उनका हातले बनाएको जस्तो कहाँ हुनु’ ग्राहकको यस्तो प्रतिक्रियाले उनलाई थप ऊर्जा दिन्छ।
सखी जुम्लाको चन्दननाथ नगरपालिका-५ कि स्थायी बासिन्दा हुन्। उनले सामान्यदेखि मौसमी फल र जडिबुटीको अचार पनि बनाउँछिन्। उनीकहाँ मासुको पनि अचार बन्छ– स्याउ, जडिबुटी (पदमचाल) र टिमुर छाेप।
अहिले सखीले बनाएका अचार बजारमा पाइन्छन्। सखीका अनुसार उनले बनाउने अचारमा कुनै रसायन प्रयोग हुँदैन। झन्डै एक वर्षअघि अचार, नमकिन, आलु चिप्स व्यवसायमा लागेकी उनलाई ‘अचार दिदी’ भनेर चिन्नेहरू धेरै छन्। उनी भन्छिन्, ‘धेरैले अचार दिदी नै भन्छन्।’
उनी सन्तान र घरपरिवार रेखदेखमा मात्र सीमित हुन चाहिनन्। उनकाे मनमा आत्मनिर्भर र उद्यमी बन्ने उद्देश्य पलायो। साे पश्चात् उनी अचार र नमकिनमा केन्द्रित भइन्। अनि अचार नमकिनकै बजार सर्वेक्षण गर्न थालिन्। पछि उनले स्थानीय बाली काेदाकाे नमकिन, अचार र आलु चिप्स बनाउन लागिन्।
बजारमा आयातित अचार भेटिन्थे। स्थानीय अचार त्यति हुन्थेन। सखीले निधो गरिहालिन्, अचार, नमकिन र आलु चिप्सकै व्यवसाय गर्ने। बजारमा अचार, नमकिन र चिप्स जान थाल्यो, अरूको तुलनामा उनकै अचार, नमकिन र आलु चिप्स मन पराइएको उनी बताउँछिन्।
सुरुका दिनमा स्वादलाई लिएर केही टीकाटिप्पणी नभएका होइनन्।सखीले हरेस नखाइ आफ्नाे काममा लागि रहिन्। अन्ततः उनका हातले बनेका अचार, नमकिन र आलु चिप्सको स्वाद धेरैको जिब्रोमा टक्क बस्यो। ‘मलाई खाना बनाउन एकदमै मनपर्छ। मिठो बनाउँछु भनेर प्रशंसा पनि आउँछ,’ आत्मविश्वासी हुँदै उनी भन्छिन्, ‘त्यही भएर होला, बजारमा मेरो हातले बनाएका परिकार निकै रुचाइयो।’
काम गर्न उमेरले छेक्दैन भन्ने बुझेकी उनले लक्की आलु चिप्स अन्य अचार नमकिन उद्योग दर्ता गरी आफ्नै अचार, चिप्स र नमकिन बनाउन थालिन्। बिहान–बेलुका घरधन्दा सकेर दिउँसो स्थानीय परिकार बनाउँथिन्। ‘मन भए जसरी पनि काम गरिने रहेछ। घरको काम सकेर बाँकी समय अचार, नमकिन बनाउनु एक हिसाबमा समय सदुपयोग पनि थियो,’ उनले भनिन्।
कुखुराको मासुकाे अचार प्रतिबट्टा १ हजार बिक्रीवितरण भइरहेको छ। काेदाेका नमकिन प्रतिपाकेट एक सय २० रुपैयाँ, जडिबुटी अचार (पदमचाल),टिपुर छाेप र स्याउका अचार प्रतिबट्टा ३ सय रुपैयाँमा बिक्री भइरहेको छ। भने ६० रुपैयाँ पाकेट आलु चिप्स बिक्री भइरहेको छ। अहिलेसम्म उनले दुई लाख रुपैयाँभन्दा बढीकाे अचार, ३० हजारकाे नमकिन र २० हजारको आलु चिप्स बिक्री गरिन्।
कहिलेकाहीँ ग्राहकहरू घरमै पुग्छन्। परिकार लामो समयसम्म नबिग्रिने उनी बताउँछिन्। सखीको अचार जुम्लामा मात्र बिक्ने होइन। काठमाडौँ, नेपालगन्ज, सुर्खेतका बजारमा पनि प्रख्यात छन्। उनलाई लाग्छ कुनै काम ठूलोसानो हुँदैन। इच्छा भए जे पनि गर्न सकिन्छ। उनले व्यवसाय सुरु गर्दा अहिलेजस्तो फराकिलो बजार थिएन। उनले धैर्य भने गुमाइनन्।
अहिलेका युवामा धैर्य कम भएको उनले महसुस गरेकी छन्। ‘व्यवसायमा लागेपछि धैर्य हुन जरुरी छ र आत्मविश्वासले सकारात्मक दृष्टिकोण दिन्छ। यिनै कुरालाई सिद्धान्त मान्ने हो भने सफलता अवश्य मिल्छ। अहिलेका युवालाई त धेरै अवसर छ नि,’ उनी भन्छिन्।