जुम्लाको चन्दननाथ नगरपालिका–९ का कृषक रतन रावत स्याउ, तरकारीसँगै धान खेती पनि गर्दै आएका छन् । सुरुमा धान खेती मात्र गर्दै आएका उनले स्याउ, तरकारी खेती धेरैपछिबाट सुरु गरेका हुन् । उनले अहिले धान खेतीलाई कम र स्याउ र तरकारी खेतीलाई बढाउँदै लगेका छन् । ४ वर्षअघिसम्म १० कट्ठा जमिनमा धान खेती गर्दै आएका उनले अहिले घटाएर ६ कट्ठामा झारेका छन् ।
‘पहिले सबै खेतमा धान लगाउँदै आएको थिएँ । अहिले स्याउ बगैंचालाई विस्तार गरेपछि स्याउको नर्सरीका लागि धान लगाउँदै आएको खेत प्रयोग गरियो,’ उनले भने । उनले खेत थप पनि गरेका छन् । तर थपेको खेत धानका लागि नभएर स्याउ र अन्य तरकारी खेतीका लागि हो ।
यसरी धान खेतीलाई घटाउँदै अन्य खेती गर्ने रतन मात्र एक्ला हैनन् । उनकै गाउँका अर्का कृषक खड्क बुढाले पनि केही वर्षअघिभन्दा अहिले धान खेती गर्ने जमिन घटाएका छन् । पहिलेको तुलनामा अहिले ठ्याक्कै आधा धान खेती गर्ने जमिन घटाएको उनी बताउँछन् । ३ वर्षअघिसम्म ३० बोरा बढी धान उत्पादन गर्ने उनी अहिले घटेर १५ बोरा मात्र उत्पादन भइरहेको बताउँछन् । स्याउ, स्याउको बेर्ना र तरकारीबाट आम्दानी धेरै हुन थालेपछि धान खेती गर्ने जमिन घटाएको उनले सुनाए । पहिले धान खेती किसानहरू अहिले स्याउ र तरकारी खेतीतर्फ लागेको उनले बताए ।
स्याउको बजार राम्रो भएपछि स्याउ खेतीलाइ विस्तार गरेको रतनको भनाइ छ । धान खेती घटाउने उद्देश्य नभए पनि स्याउबाट राम्रो आम्दानी हुने भएपछि स्याउ बढी र धान कम लगाउने गरेको उनले बताए । २/४ वर्षयता धानमा विभिन्न रोग देखिएर उत्पादन घट्दै गएपछि किसानहरूले धान खेती घटाउँदै गएका उनको भनाइ छ । ‘पछिल्लो समय तरकारी खेतीतर्फ कृषकहरू आकर्षित भएका छन्,’ उनले भने, ‘तरकारी लगाएपछि आफूलाई पनि खान मिल्ने र आम्दानी पनि धानले भन्दा धेरै गर्न थालेपछि तरकारी खेतीतर्फ लागेका हुन् । तरकारीको बीउ उत्पादनमा पनि किसानको जोड छ । स्याउ खेतीमा पनि किसानहरू लागिरहेका छन् ।’