पश्चिम क्षेत्रका सर्वसाधारण नागरिक मिर्गौला प्रत्यारोपण गर्न अब बाहिर जानु नपर्ने भएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमै मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिने भएको हो। मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र भेरी अस्पतालबिच सम्झौता भइसकेको छ।
केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापछि केन्द्रका निर्देशक डा. श्रेष्ठले एक महिनाभित्रमा मिर्गौला प्रत्यारोपण सेवा भेरी अस्पतालबाट गर्ने गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए।
‘हामी एक महिनाभित्र भेरीबाट सेवा थाल्ने प्रयास गर्छौं,’ उनले भने। शल्यक्रिया सेवाका लागि आवश्यक पर्ने सबै उपकरण केन्द्रबाट ल्याएर सेवा सुरु गर्ने श्रेष्ठले प्रतिबद्धता जनाए। यस बिचमा इजाजतका लागि भेरी अस्पतालले निवेदन दिनेछ, चाँडोभन्दा चाँडो लाइसेन्स दिने र कानुनी रूपले पनि भेरी अस्पताललाई पनि प्रत्यारोपण योग्य बनाउन कुनै कसर बाँकी राखिनेछैन,’ उनले भने।
भेरी अस्पतालका मेसु डा. सुवेदीले मिर्गौला प्रत्यारोपण सेवा सुरु भएपछि यस क्षेत्रका मिर्गौलापीडितले ठुलो राहत पाउने बताए। भेरी अस्पतालले मिर्गौला पीडितका लागि निःशुल्क डाइलाइसिस सेवा सञ्चालन गर्दै आएको छ। अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले मिर्गौला प्रत्यारोपण सेवाले पश्चिम क्षेत्रका सर्वसाधारणलाई ठूलो राहत मिल्ने बताए।
मिर्गौला प्रत्यारोपण सेवा भेरी अस्पतालमा सुरु गर्नुपर्ने अति आवश्यक नै थियो, स्वास्थ्य मन्त्रालयले अहिले जसरी नेपालगन्जलाई प्राथमिकतामा राखेर सेवा सुरु गर्ने प्रक्रियाअगाडि बढाएको छ, यसले पश्चिम क्षेत्रका मिर्गौलापीडित बिरामीलाई ठुलो राहत मिल्नेछ,’ उनले भने।