☰ open Loading... 22 January 2025|  

दियालोका बचतकर्ता आन्दोलनमा
पश्चिम नेपाल   | १४ पुष २०८१, आईतवार १६:५४

जुम्लामा दियालो बहुद्देश्यीय सहकारी संस्थाका बचतकर्ता आन्दोलनमा उत्रिएका छन् । बचत गरेको समय पुगिसकेको भए पनि दियालो सहकारीले बचत फिर्ता गर्न आलटाल गरेपछि बचतकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले तत्काल आफ्नो बचत र ब्याज स्वरुप आउने रकम उपलब्ध गराउन माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै बचत फिर्ता संघर्ष समितिले बचत पाउन निकै प्रयास भए पनि कुनै सुनुवाइ नभएपछि आन्दोलनको बाटो राज्न बाध्य भएको जनाएको हो । उनीहरुले धर्मनन्द धितालको संयोजकत्वमा बचत फिर्ता संघर्ष समिति गठन गरेर आन्दोलन थालेका छन् । उनीहरुले दियालो सहकारी घेर्ने, सडकमा प्लेकार्डसहित बचत फिर्ताको माग गर्नेदेखि जिल्ला प्रशासन प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराउँदै आएका छन् ।

संघर्ष समितिका संयोजक धितालले बारम्बार बचत माग्न जाँदा आश्वासनबाहेक केही पाउन नसकेको बताए । उनले भने, ‘हामी पटकपटक बचत फिर्ताको लागि गयौं । कर्मचारीहरुबाट विभिन्न मितिमा दिने भनेर भाका तोकियो तर बचत फिर्ता हुन सकेन् । बाध्य भएर सडकमा उत्रिनुपरेको छ ।’