☰ open Loading... 23 January 2025|  

दुई ठाँउमा भवन बन्यो, पलाताको केन्द्र विवाद कायमै
पश्चिम नेपाल   | २४ पुष २०८१, बुधबार १५:१३

पलाता गाउँपालिकाको अस्थायी मुकाम थिर्पुबाट २०८१ मंसिर १९ गते गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकाया (ईन्द्र) ले पलाताको कार्यालय रानीविसौनीमा सारिएकोमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरानै स्थानमा राख्न निर्देशन दिएको छ ।

गाउँपालिकाको सेवा प्रवाह सम्बन्धमा मन्त्रालयले केन्द्र निर्धारण तथा केन्द्र परिवर्तन सम्बन्धी स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा रहेको कानुनी व्यवस्था बमोजिम गर्नुहुन भनी जिल्ला प्रशासन कार्यालयले कालिकोटलाई बोधार्थ गरी पत्राचार गरेको हो ।

जसअनुसार अध्यक्ष रोकायाले अवैध रुपमा सारेको पालिका मुकाम रोकी पुरानै पलाता गाउँपालिका – ९ को थिर्पुमा गाउँपालिकाको काम अर्को निर्णय नहुने बेलासम्म सञ्चालन गर्न मन्त्रालयले पत्राचार गरेको हो ।

यसअघि तत्कालीन गाउँपालिका प्रमुख लक्ष्मण बहादुर बमको पालादेखि थिर्पुमै अस्थायी रुपमा पालिकाको सेवा प्रवाह हुँदै आएको थियो । अध्यक्ष बमले पालिकाको बिच केन्द्रमा पर्ने लोडे भन्ने ठाउँमा गाउँपालिकाको नाममा जग्गा पास गरी पालिकाको केही भवनहरु निर्माण भइसकेका छन् भने केही भवनहरु निर्माणाधीन अवस्थामा रहेका छन् । कार्यपालिकाको बैठकबाट यसअघिका गाउँपालिका अध्यक्ष बमको पालामा लोडे भन्ने स्थानमा मुकाम सार्ने निर्णय भएको र हाल पालिका अध्यक्ष रोकायाले पनि कार्यपालिका बैठकबाट रानीविसौनीमा सार्ने निर्णय गरेको पाइएको छ । लोडे र रानीविसौनी दुवै स्थानमा गाउँपालिकाको कार्यालय सञ्चालनका लागि भवनहरु बनाइएको छ ।

तर, दुवै स्थानमा नेपाल सरकारले राजपत्रमा उल्लेख गरेको छैन । यसअघि भौतिक संरचना निर्माणपछि सार्ने कार्यपालिका र गाउँ सभाको निर्णय भन्दै अध्यक्ष रोकायाले मंसिर १९ गते ३ दिनभित्र सम्पूर्ण कर्मचारीहरू रानीविसौनीमा गएर काम काम गर्न पत्राचार गरेका थिए । रानीविसौनीमा पनि भवनहरु बनिरहेका छन् । सरकारको पैसा सरकारले केन्द्र नतोक्दै हचुवाको भरमा लोडे र रानीविसौनीमा भवन निर्माण अध्यक्षपिच्छे फर्जुल खर्च भएको पाइएको छ ।

पालिकाको नाममा बिच सेन्टरमा सर्वसम्वत रुपमा जग्गा प्राप्त भई भवनहरु बनी सकेको अवस्थामा अहिले बहुमतको भरमा अनेत्र रातारात पालिकाको कार्यालय सार्नु दुःखद कुुरा भएको तत्कालीन गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताए । मन्त्रालयबाट आएको पत्रअनुसार थिर्पुबाट पालिकाको कामकारबाही गर्नका लागि पत्र पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटाईले बताए । पलाता पालिका अध्यक्ष रोकाया र प्रवक्ता तिलक बुढालाई सम्पर्क गर्न खोज्दा फोन उठेन ।