☰ open Loading... 31 January 2025|  

आमाले गरिन् दुई नाबालिग छोरीको हत्या
पश्चिम नेपाल   | २५ पुष २०८१, बिहीबार ०९:३२

सल्यानमा दुई नाबालिग छोरीहरूको हत्या आमाले नै गरेको खुलेको छ । बुधबार बिहान ११ बजेतिर बन्गाड कुपिण्डे नगरपालिका-११ गलगोलमा घरमै मृत भेटिएका दुई बालिकाको हत्या आमाले नै गरेको खुलेको हो ।

घटनास्थल पुगेको प्रहरी टोलीले सोधपुछ गर्दा २५ वर्षीया आमा पूर्णिमा रानाले नै हत्या गरेको स्वीकार गरेकी छिन् । उनले ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी छोरी राघवीको हत्या गरेकी हुन् । बालिकाका बुवा टेकमान राना भने रोजगारीका क्रममा जिल्लाबाहिर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सोधपुछ गर्दा पूर्णिमाले श्रीमानसँग बेलाबेलामा हुने घरायसी विवादका कारण छोरीहरूको हत्या गरेको स्विकारेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले बताए । कपडाको सलले घाँटी थिचेर आफूले छोरीहरूको हत्या गरेको प्रहरीसँगको बयानमा भनेकी छिन् । प्रहरीले पूर्णिमालाई नियन्त्रणमा लिइसकेको छ । प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ ।