अछामको कमलबजारदेखि कालिकोटको लागि तानिएको ३३ केभी प्रसारण लाइन विस्तारमा पञ्चदेवल विनायक नगरपालिका—३,स्थित बेल्खेतका स्थानीयले अवरोध गरेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण लाइन विस्तारको योजना अघि सारी कालिकोट वितरण केन्द्रले सुदूरपश्चिम प्रदेशको अछाम स्थित कमल बजारबाट ३३ केभी क्षमताको प्रसारण लाइन विस्तार गरी दैलेखको साइखोलामा जडान गर्ने गरी तार तान्दा पञ्चदेवल विनायक नगरपालिका —३ बेल्खेतका स्थानीयले आफ्नो गाउँमा पनि विद्युत् जडान गर्न माग गर्दै तार तान्न अवरोध गरेका हुन्।
कमलबजार–कालिकोट ३३ केभी प्रसारण लाइन विस्तारका लागि काम सकिनै लाग्दा स्थानीयले अवरोध गरे पछि काम रोकिएको नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख हरेन्द्र राय यादव बताए ।
उनले भने ‘स्थानीयको माग पनि जायज छ, तर उनीहरूको माग हाम्रो कार्यालयले गर्न नसक्ने भएकाले तत्काल काम गर्न समस्या भयो ।’ अछाम वितरण केन्द्रले काम गरिरहेको जनाएको छ। अहिले पोल र तार तान्न तिन महिना लाग्ने भनेपछि स्थानीयले तार विस्तार गर्न नदिएको उनको भनाइ छ।
पञ्चदेवल विनायक नगरपालिकाको कमलबजारमा ३३ केभी लाइन यसअघि विस्तार भइसकेको छ। कमलबजारबाट साइखोलासम्म लाइन विस्तारका लागि ९ किमी पोल र तार विस्तार गर्न थालिएको छ। कमलबजारमा सब–स्टेसन तीन वर्ष अघि नै निर्माण भइसकेको थियो ।
स्थानीयका अनुसार आफूहरूले विद्युत्को आपूर्ति गर्नुपर्ने माग रहेको र ३ महिना भित्र सम्बोधन गर्ने कुरा अझै ढिला भएकाले तार तान्न नदिएको बताएका छन्।