☰ open Loading... 21 January 2025|  

पूर्व मुख्यमंत्री जीवन बहादुर शाही भन्छन् : ‘जुन गतिमा सरकारले काम गर्न सक्नुपर्थ्यो, त्यो अनुसार गरेको छैन’
पश्चिम नेपाल   | १ माघ २०८१, मंगलवार २३:३१

०८० चैत अन्तिम सातातिर वाइडबडी प्रकरणमा मुद्दा चलेपछि निलम्बनमा रहेका नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले सो मुद्दाबाट सफाइ पाइसकेका छन् । सफाइ पाएसँगै उनको निलम्बन फुकुवा भयो ।

उनी निलम्बन भएकै अवस्थामा ०८१ असारमा कांग्रेस र नेकपा एमालेबिच सत्ता समीकरण बनेको थियो । प्रदेशका हरेक राजनीतिक घटनाक्रममा प्रत्यक्ष सहभागिता जनाउँदै आएका शाही त्यो बेला भने ओझेलमा थिए ।

उनकै दल कांग्रेसको समर्थनमा यतिबेला एमाले संसदीय दलका नेता यामलाल कँडेल कर्णालीका मुख्यमन्त्री छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताइरहँदा प्रदेश तहमा भने कार्यकालको विषयमा सत्तारुढ दलहरूबिच छुट्टै सहमति भने भएको छैन । कांग्रेस नेता शाहीले पार्टीका कार्यक्रममा केन्द्रमा देउवा प्रधानमन्त्री भएकै दिन कर्णालीमा कांग्रेसको मुख्यमन्त्री हुने बताइरहेका छन् ।
रातोपाटीसँगको अन्तर्वातामा पनि उनले त्यस्तो सहमति नभएको बताए । तर केन्द्रमा प्रधानमन्त्री बदलिने बित्तिकै प्रदेशमा आफू मुख्यमन्त्री बन्ने उनले स्पष्ट पारे । अर्कातर्फ कँडेल नेतृत्वको सरकारको काम–कारवाहीप्रति शाही त्यत्ति सन्तुष्ट देखिएका छैनन् ।

यामलाल कँडेल प्रतिपक्षमा हुँदा जसरी प्रस्तुत हुन्थे, त्यो अनुसार काम गर्न नसकेको रातोपाटीसँगको कुराकानीमा शाहीको बुझाइ रहेको थियो ।