☰ open Loading... 22 February 2025|  

थारू बाहुल्य पश्चिममा मनाइयो माघी
पश्चिम नेपाल   | २ माघ २०८१, बुधबार ०८:४९

थारू समुदायको प्रमुख चाड माघी मंगलबार हर्षाेल्लासका साथ मनाइएको छ। माघीलाई थारू समुदायले मौलिक संस्कृतिसँगै नयाँ वर्षका रूपमा पनि मनाउने गर्छन्। पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलालीलगायतका थारू बाहुल्य क्षेत्रमा उत्साहका साथ माघी मनाइएको छ। मंगलबार थारू बाहुल्य रहेका क्षेत्रमा मेला महोत्सवमा भएका छन्, जहाँ हजारौं मानिसको सहभागिता थियो।

हप्ता दिन अघिदेखि विभिन्न सांस्कृतिक तथा मनोरञ्जनका कार्यक्रम गर्दै उनीहरूले माघी मनाए भने माघे संक्रान्तिको अघिल्लो दिन अर्थात् पुस मसान्तमा घरघरमा सुँगुर काटेर मनाए, जसलाई ‘जिता मरना दिन’ भनिने थारू समुदायका अगुवाहरू बताउँछन्।

माघे संक्रान्तिको दिन बिहान सबैजना नजिकैको खोलामा नुहाउन जाने चलन छ। यसलाई ‘माघ लहान’ भन्ने गरिन्छ। नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिने गरिएको बर्दियाका प्रसाद थारूले बताए। ‘माघको दोस्रो दिन खिचडी बनाई खाने चलन छ’, उनले भने, ‘यो दिनलाई ‘खिचरहवा’ भनिन्छ।’

थारू समुदायमा दोस्रो दिन खिचडी खाने भए पनि पहाडी समुदायका व्यक्तिहरूले पहिलो दिन नै खिचडी खाने गर्छन्। पहाडी समुदायमा गहुँ, जहुँको पात पालेर बनेको कालो खरानीको टीका (सिलापाती) लगाउने चलन पनि छ।

पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड–रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ। यतिबेला ‘सखियै हो, माघिक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुन्डिएको हुन्छ। माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ।

माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्षभरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ। दाङ–देउखुरीमा पर्ने धार्मिकस्थल रिहार थारू समुदायको परम्परागत देवथानको रूपमा छ। जहाँको तातो कुण्डमा स्नान गर्न माघीको दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्छ। यहाँ भारतबाट समेत ठूलो संख्यामा तीर्थालुहरू आउँछन्। स्नान गरेमा मनोकामना पूरा हुने, निःसन्तानले सन्तान पाउने भन्ने जनविश्वास छ।

यसैगरी दाङ–देउखुरीकै गोबरडिहाको जंगलवा कुट्टीमा पनि माघे संक्रान्तिमा मानिसहरू रातभरि जाग्रम गरी पूजाआजा गर्छन्। यसलाई बाघनाथ बाबा कुट्टी भनिन्छ। त्यस्तै गढवा गाउँपालिका– १ को दाङ–देउखुरीको बडाहारा गाउँमा रहेको कुलपानी कुण्डमा स्नान गरी पूजा गर्नाले लुतोलगायतका रोग निको हुन्छ भन्ने जनविश्वास छ। यो ठाउँ स्थानीय थारू भाषामा खौराबाबाको नामले प्रख्यात छ। खौराबाबालाई शिवजीको अर्को रूप मानिन्छ।