☰ open Loading... 21 January 2025|  

एमाले र कांग्रेसको सरकार बनेपछि अर्थतन्त्र सुधारको दिशामा : सचिव भट्टराई
पश्चिम नेपाल   | ३ माघ २०८१, बिहीबार ०८:१०

काठमाडौं ।नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र कांग्रेसको संयुक्त सरकार बनेपछि देशको अर्थतन्त्र लयमा फर्किएको बताएका छन् ।

बुधबार दोलखाको चरिकोटमा प्रेस चौतारी नेपाल दोलखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले अहिले शेयर बजार सकारात्मक भएको बताए । यसबाट शेयर बजारका लगानीकर्तामा सकारात्मक सन्देश गएको भट्टराईको भनाइ छ ।

अहिले सरकारले ल्याएको अध्यादेश संसद् छलेर ल्याइयो भन्ने कुरामा पनि कुनै सत्यता नरहेको भट्टराईले बताए । एउटा अधिवेशन समाप्त भएको ६ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने कानूनी प्रावधान भएको बताउँदै भट्टराईले त्यसको लागि अझै एक–डेढ महिना समय बाँकी रहेको स्पष्ट पारे । संसद् बस्ने बित्तिकै अध्यादेश संसद्मा जाने भएकाले सरकारले संसद् छल्न नसक्ने भट्टराईको भनाइ छ ।

नेपालका कतिपय कानूनहरू निकै पुराना भएका र कतिपय कानून एकअर्कासँग बाझिने खालका भएका कारण त्यसलाई सहज बनाउन सरकारले अध्यादेश ल्याएको भट्टराईले स्पष्ट पारे । देशमा लगानीमैत्री वातावरण बनाउन तथा नागरिकलाई सहज सेवा प्रवाह गर्न ती अध्यादेशहरू ल्याइएको भट्टराईले बताए ।

सरकारले ६ महिनामा कति काम गर्‍यो गरेन भन्ने कुरा आमनागरिकले समीक्षा गरिरहेका बताउँदै भट्टराईले एमालेले सरकारको नेतृत्व लिँदा देश निकै संकटको अवस्थामा रहेको कुरा बिर्सन नहुने बताए । अर्थतन्त्रलाई लयमा ल्याउन, विश्व समुदाय समक्ष आत्मसम्मानको साथ नेपालको पहिचान स्थापित गर्न, देश भित्रको एकता सुदृढ गर्न, नागरिकमा आत्मविश्वास बढाउन र लोकतन्त्रलाई सुदृढ बनाउन ७ बुँदे सहमतिका आधारमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेको उनले बताए ।

‘अहिलेको सरकार ७ बुँदे सहमतिप्रति प्रतिबद्ध छ, त्यसलाई नै अहिलेको कमको मार्गदर्शन मान्दै अघि बढेको छ,’ उनले भने ।

विगतका सरकारले कायम गरेको दायित्व भुक्तानी गर्ने काम अहिलेको सरकारले गर्नुपरेको कारण सरकारले विकास निर्माणका काम जुन रूपमा अघि बढाउनुपर्ने हो, त्यस हिसाबले गर्न नसकेको भट्टराईको भनाइ छ । अहिले वैदेशिक मुद्राको सञ्चिति पनि पर्याप्त भएकोले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । आर्थिक वृद्धिदर पनि ४ प्रतिशतमाथि नै हुने स्थिति बन्दै गएकाले देशको समृद्धिको अवस्था आशलाग्दो भएको उनले प्रष्ट पारे ।

भट्टराईले नेपाल र चीनबीच भएको बिआरआई सम्झौताले नेपालको समृद्धिमा टेवा पुग्ने बताए । बीआरआई परियोजना कार्यान्वयनको लागि सरकार एकताबद्ध भएर लागेको उनले स्पष्ट पारे ।

देशमा भएको राजनैतिक अस्थिरताको अन्त्य गरी सुशासन र पारदर्शितासँगै दीगो विकासका उद्देश्यले २ ठूला दल मिलेर सरकार बनेको बताउँदै भट्टराईले २०८४ सालको चुनावसम्म कांग्रेस र एमालेको सरकार चल्ने पनि बताए । सरकार ढल्छ भनि गरिएका प्रचार हल्ला मात्रै भएका भट्टराईको भनाइ छ ।

प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको सम्मेलनमा जिल्लास्थित सञ्चारकर्मी तथा एमाले नेताहरूको सहभागिता थियो ।