जुम्लाको लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण लेकाली क्षेत्रको जनजीवन निकै कष्टकर बनेको छ । बेसी क्षेत्रमा भने वर्षा भइरहेको छ ।
बिहीबार बिहानैदेखि बादल लागेका कारण अत्यधिक चिसो बढेको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिक समस्यामा परेका छन् । उनीहरू घरबाहिर निस्कन नसकेर घरभित्रै आगो बालेर बसिरहेका छन् ।
लेकाली क्षेत्रमा गाईबस्तुलाई दानापानी दिएर गोठमै राख्नुपरेको छ । जिल्लाको कनकासुन्दरी, सिंजा, हिमा, गुठिचौर, तिला र पातारासी गाउँपालिकाका लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको स्थानीयले बताए । चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
वर्षा र हिमपात जुम्लामा यस वर्ष पहिलोपटक परेको हो । यसअघि पटक–पटक बादल लाग्ने गरे पनि हिउँ पर्न सकेको थिएन । चिसोमात्रै बढेको थियो । स्थानीय मानबहादुर बुढाले सामान्य हिमपात र वर्षाले कृषि क्षेत्रमा आशा पलाएको बताए ।