☰ open Loading... 22 January 2025|  

जीएमआर र एसजेभीएनले जुटाए माथिल्लो कर्णालीमा लगानी
पश्चिम नेपाल   | ५ माघ २०८१, शनिबार १२:३७

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीहरू जीएमआर इनर्जी, एसजेभीएन र इरेडाले परियोजना निर्माणका लागि ऋण लगानी जुटाएका छन् ।

जीएमआरले यो आयोजना निर्माणको जिम्मा पाएको १७ वर्षपछि र लगानी बोर्डसँग परियोजना विकास सम्झौता (पीडीए) गरेको ११ वर्षपछि आयोजनाका लागि ऋण लगानी जुटाएको हो ।

यो आयोजना निर्माणको जिम्मा पाएको जीएमआर वित्तीय संकटमा परेपछि लगानी जुटाउने (फाइनान्सियल क्लोजर) को म्याद थप गर्दै आएको थियो । गत वर्ष सर्वोच्च अदालतले अब लगानी जुटाउने म्याद थप्न नमिल्ने फैसला गरेपछि भने कम्पनी दबाबमा परेको थियो ।

यसबीच जीएमआर एक्लैले परियोजना निर्माण गर्न नसक्ने भएपछि अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सरकारी कम्पनी एसजेभीएन लिमिटेड र भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी (इरेडा) लाई समेत साझेदारका रूपमा भित्र्याएको थियो ।

तर, यस विषयमा जीएमआरले यसअघि लगानी बोर्डलाई औपचारिक जानकारी गराएको थिएन ।

बुधबार लगानी व्यवस्थापन भएका सम्झौतापत्रसँगै कम्पनीले संयुक्त लगानीबारे पनि जानकारी गराएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले जानकारी दिए ।

९ सय मेगावाटको आयोजना यसअघि जीएमआरले एक्लै बनाउने जनाएको थियो । तर, लगानी जुटाउन नसकेपछि आफूले ३४ प्रतिशत सेयर राखेर एसजेभीएनलाई ३४ प्रतिशत र इरेडालाई ५ प्रतिशत सेयर दिएको छ ।

तीन कम्पनीको संयुक्त लगानीमा बन्ने परियोजनामा ऋण लगानी पनि इरेडाले नै गर्ने भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा नेपाली बैंकहरूले पनि सहवित्तीयकरणमा ४० अर्बभन्दा बढी लगानी गर्ने भएका छन् ।

‘कम्पनीले एक–डेढ सय पेजको दस्तावेज बुझाएको छ । त्यसको मूल्यांकन गरेर यस विषयमा बोर्डलाई जाानकारी गराउँछौं,’ प्रवक्ता उपाध्यायले भने ।