☰ open Loading... 22 February 2025|  

डायलासिस सेवा नहुँदा कर्णालीका बिरामी मर्कामा
पश्चिम नेपाल   | ७ माघ २०८१, सोमबार १६:४७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा जडान गरिएको डायलासिस मेसिन सञ्चालनमा नआउँदा बिरामीहरु मर्कामा परेका छन् । उनीहरु डायलासिस गराउन सुर्खेत,नेपालगन्ज, काठमाडौंका अस्पतालहरुमा जान बाध्य छन् ।

गत वर्ष भदौ महिनाको १४ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्यमन्त्री मोहनबहादुर बस्नेतले ६ वटा डायलासिस मेसिन प्रदान गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डायलासिस सेवा सुरु भएको घोषणा गरे । तर घोषणाको एक वर्ष चार महिना बितिसक्दा पनि सेवा सञ्चालन हुन सकेको छैन ।

अधिकांश मिर्गौलापीडितहरु अस्पतालमा पुगेर फर्किने गरेका छन् । उनीहरुले तत्काल डायलासिस मेसिन सञ्चालनमा ल्याएर सेवा प्रदान गर्न माग गरेका छन् । ‘अस्पतालमा डायलासिस मेसिन छ । तर डायलासिस गराउनुपर्ने बिरामीहरु सुर्खेत, नेपालगन्ज जानु परेको छ,’ स्थानीय कृष्णप्रसाद गौतमले भने, ‘छिट्टै मेसिन सञ्चालनमा आएर बिरामीले सेवा पाएको देख्न पाइयोस् ।’

‘मेसिनहरु थन्किनु, सेवा रोकिनुजस्ता कारणले दैनिक दिन नागरिकले दुःख पाइरहेका छन्,’ उनले थपे, ‘डायलासिस मेसिन उद्घाटन गर्दा जति मिर्गौलापीडितहरु खुसी थिए । अब सेवा सुरु गरेर त्यो भन्दा बढी खुसी देख्न पाइयोस् ।’