कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा यहि माघ ११ र १२ गते कर्णाली युथ महोत्सबको आयोजना गरिने भएको छ । यूथ फर चेन्जको आयोजनामा विरेन्द्रनगरस्थित सिटिहलको ग्राउण्डमा हुने भएको हो ।
महोत्सबले कर्णालीका युवाहरूलाई आत्मविश्वास र क्षमता वृद्धिका लागि नयाँ दिशा प्रदान लक्ष्य राखिएको छ । विशेष गरी विदेश जाने सोच भएका युवा वर्गलाई देशमै रहेका अवसरहरूको महत्त्व बुझाउन महोत्सबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको परिवर्तनका लागी युवा संस्था (यूथ फर चेन्ज) का अध्यक्ष हिमाल बिष्टले बताए । सातै प्रदेशमा प्रादेशिक युथ फेष्टिबल गर्ने सोचका साथ कर्णालीबाट प्रादेशिक युथ फेष्टिबल महोत्सबको सुरुवात गर्न लागीएको अध्यक्ष बिष्टले पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन् ।
कार्यक्रममा कर्णालीका विभिन्न सफल युवा जो आफ्नै देशमा रहेर समृद्धि र आर्थिक क्षेत्रमा कामगरी रहेका छन् उनीहरुलाई उपस्थित गराई कर्णाली युथ आइकनको रूपमा सम्मानित गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
कर्णालीका युवाहरूलाई एकजुट गराएर समग्र प्रदेशको सामाजिक र आर्थिक उत्थानमा योगदान पुर्याउने उद्देश्यले कर्णाली युथ महोत्सबको आयोजना गरीएको महोत्सबका प्रमुख सल्लाहकार भुपेन्द्रजंग शाहीले जानकारी दिए । महोत्सबमा सफल युवाहरुको प्रगति, चर्चित गायक गायिका लगाएत स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेभएको छ । कार्यक्रममा कर्णालीको सांस्कृतिक धरोहर र युवाहरूको नेतृत्व विकासलाई केन्द्रीत गर्दै संवाद र छलफलका सत्र पनि हुने बताईएको छ ।
महोत्सबले युवा वर्गमा प्रेरणा र सकारात्मक सोचको संचार , कर्णाली प्रदेशका समस्याहरूलाई चिन्हित गर्दै, युवा नेतृत्वको माध्यमबाट समाधान खोज्ने र नयाँ रणनीतिहरू प्रस्तुत गर्नुका साथै युवाहरूलाई केवल मनोरञ्जनको अवसर मात्र नभई , भविष्यमा नेतृत्वकर्ताका रूपमा हौसला दिने अपेक्षा गरिएको छ ।